• शनिबार-बैशाख-८-२०८१

अमेरिकाका लागि बेलायती राजदूत किमद्वारा राजीनामा

अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोक


लण्डन, २५ असार (रासस/एएफपी) :अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएको बताउनुभएको छ । 

 

    उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी दिनुभएको छ ।

 

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद शुरु भएको थियो । 

 

    बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामापत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ । 

 

    उहाँले सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि राजीनामापत्रमा उल्लेख गर्नुभएको छ । 

 

    “मैले मेरो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भव जस्तै देखिएको छ, त्यसैले मैले पदीय जिम्मेबारी त्याग्ने निर्णय गरेको छु,” उहाँले भन्नुभएको छ । 

 

    बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको उहाँले बताउनुभएको छ । 

 

    उहाँको राजीनामाका बारेमा प्रधानमन्त्री थेरेसा मेले संसद्मा जानकारी पनि गराउनु भएको छ । उहाँले राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवादसमेत दिनुभएको छ ।

 

    ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस