• शुक्रबार-बैशाख-१४-२०८१

बावरी र कागती : गर्मीको साथी

 

 

दुई वर्ष अघि अमेरिकामा धेरै महंगोमा मैले ‘बाबरी’ (पुदिना) किन्न प¥यो । खाजा खान गएको एक ठाउँमा खैरो पाउरोटी, अण्डा, चिज आदि लिएर खान बसे । चिसो पेय पदार्थ लिइन । एउटा मेसिनमा पानी राखिरहेको थियो, त्यसमा पुदिनाको पात तैरिरहेको थियो । त्यो त सित्तैमा होला भनेर गिलासमा पानी लिएँ, २ वटा पुदिनाका पात झारें । म लिएर टेवलमा बस्न लागेको बेलामा साहुनीले भनिन् । ‘त्यो पानीको ५० सेन्ट (नेपाली ५० रु ) पर्छ ।’ ‘‘यतिका खानेकुरा लिए पछि त पानी त सित्तैमा हुनुपर्ने होइन र ?’’ मैले जिस्केर भनें । साहुनीले भनिन्, ‘पानी त सित्तैमा, पैसा त बाबरीको पो लिएको’ । दुई वटा पत्ता बाबरीको ५० सेन्टमा मैले मेरो बारीमा फलेको बाबरीको बोट सम्झें ।

 


बाबरीको (मधेसतिर पुदीना पनि भन्छन्) अचार बनाएर खाने चलन त पहिलेदेखि नै हो, तर पानीमा हालेपछि बाबरीको पानी नै त्यत्ति महंगो हुन जाँदो रहेछ । मैले ती साहुनीलाई भने, ‘मेरो घरमा त बाबरीको कति बोट छ । हामीले त जति खाए पनि पैसा तिर्नु पर्दैन ।’ ‘हो नि, के गर्नु, यहाँ त सबैको पैसा लाग्छ । फेरि बाबरीले एकदम स्वास्थ्य राम्रो गर्छ । अनि त महंगो’
तर, ‘नजिकको तीर्थ हेला’ भने झैं मैले पुदीनाको महत्व भन्ने नजानेको भान भयो ।

 


‘पुदीनहरा’ भनेर भारतमा क्याप्सुल बनाएको त थाहा नै थियो । पुदीना पानीले पनि स्वस्थ भइन्छ भनने थाहा भएपछि पुदीनाको बारेमा अझ जान्ने, प्रयत्न गर्न थालें । धेरै थरिका बाबरीहरू हुँदा रहेछन् भन्ने जानें । 

 


अनि भारतमा गएको बेलामा एक बहिनीले पुदीनाको शर्वत बनाएर ख्वाइन । मेरी बहिनी बैद्य पनि हुन् । उनले मलाई सिकाइन ‘पुदीना त औषधि हो । गर्मीको बेलामा त यो पानीमा हालेर खाए हुन्छ । जुन तरिकाले खाएपनि स्वास्थ्य र स्वस्थ दुबै दिन्छ । वीरे नून र कागती हालेर पिसेर बनाइएका पुदीनालाई मैले अहिले हप्तामा दुई दिन खाने गरेकी छु । मोहीमा पिसेर पनि खान्छु । यसले शरीरमा स्फुर्ति दिएको अनुभव गरेकी छु । म त घरबाट बाहिर यात्रामा जाँदा पनि पुदीना लिएर जान्छु । ‘उनको कुरा सुनेपछि मैले पुदिनालाई प्रयोग गर्न थालेकी छु । पानीमा बाबरी र कागतीको टुक्रा भिजाएर राख्छु र दिनभरि त्यही पिउँछु । त्यसैले म भन्छु ,‘बावरी र कागती, गर्मीको साथी !

प्रतिकृया दिनुहोस