• शुक्रबार-चैत-१६-२०८०

जीवनको गीत तिमी नै भनेर ...!


 
मैले मनसुनलाई बर्षारानीको राम्रो ख्याल गर्दै असार १५ अगाडि नै उनलाई लिएर नेपाल घुम्न आउनु भनेको त विभाग मन्त्रालयमा टिप्पणी फायल हराए जस्तै बर्षारानी पनि दिल्ली मुम्बइतिर हराइन कि कसो ? दसबर्षे जनयुद्धमा ड्याङ्गडुङ्ग  भटटट त कति सुनियो कति अस्ति भोजपुर हो कि खाँदबारीतिर हो फेरि यस्तै सुनियो रे भन्ने हल्ला गर्थे हाम्रो  टोलमा । गर्मी अचेल डन नै भएको छ  । 


 धारामा पानी नआएर असनान गर्न नपाएको कति दिन भै सक्यो इतर(डा. बाबुरामज्यूले चीन टाढा छ,भारत नै हाम्रो लागि उपयुक्त हुन्छ भनेको दिनदेखि नै मेरो बोलीमा हिन्दी लव्ज मिसिन लागेको छ) छर्के पनि पसिने शरीर त भालुजस्तो पो गनाउ“दो रहेछ । यस्तो बेला त मनसुनको ड्याङ्गडुङ्ग  र बर्षारानीको प्रवेश हुँदा मकैको पात पटटट गरी पड्केको पो सुन्न मज्जा लाग्छ हैन र ?  


 बच्चाहरु कति स्मार्ट भै सकेछन् हाम्री बर्षारानी चाहिं उस्तै लोसे छिन् । हिजो मोटु पतलु हेर्दै गरेको नातिले टीभीमा पानी पर्न थालेपछि घमौरा कन्याउँदै भन्यो–हजुरबा ! मलाईपनि स्कूल जाँदा पतलुको जस्तै छाता चाहिन्छ नि ..त्यस्तै हरियो छाता नै किनदिनु ..ऊ त्यो भिलेनको जस्तै रेनकोट पनि चाहिन्छ नि ...पुलिसको जस्तो गमबुट पनि चाहिन्छ नि । टीभीमा पानी पर्दा जसजसले जे जे लाए सबै उसलाई पनि चाहिएको थियो । एक्कासी जुरुक्क उठेर झ्यालबाट बाहिर चिहायो ।

अँध्यारो मुख लाउँदै भन्यो–खै त हाम्रोमा त पानी नै परेको छैन त ...बा मलाई आकाशबाट पानी पार्दिनु न ल ! अब अँध्यारो मुख लाउने पालो मेरो ! नातिलाई के थाहा कि उसको हजुरबा पानी प¥यो भने आँगनमा मयूर नाचे जस्तै नाच्छन् भन्ने  कुरा । बर्षा रानीले बस्तुस्थिति बुझ्न जेठमा नेपालमा पूर्व आगमन गर्दा अब यहाँ  लाख हैन नि करोड नै कबोल्नु पर्छ भन्ने कुरा भने बुझिसक्नु भएकाले छारो मारेर मात्र हुन्न करोडको बिटा जस्तै थोपाको मुसलधारे हुनुपर्छ है ।


अनुशासनमा रहनुस्उर्जाशील र उद्यमशील हुनु नकारात्मक कुरामात्र नसोच्नु सजनताबाट टाढा हुन नखोज्नुस् ओजिलो–गर्विलो–गरिमामय पदमा पुगेपछि बोल्ने विषय केही नै छैन भन्दै हल्कारुपमा खेताले बोली नबोल्नु, किन यस्तो खेताले बोली बोलेको भनेर कसैले विरोध गरेभने पनि सानो चित्त गरेर विरोध गर्नेको खिल्ली उडाउँछु भन्दै अझ बढी खेताले बोली बोलेर हाँ सोको पात्र नबन्नुस् दाजुभाइ छोराछोरीले हामी पनि अभिभावक हुन पाउनुपर्छ भनेर गनगन गरेछन भने पनि नरिसाइस बपौती–सपौती–आलोपालो थाहा छैन नभनी, कठिन परिस्थितिका पक्षहरुलाई अनुकुल पक्षहरुमा ढालेपछि तिमीहरुलाई जिम्मेबारी दिइहाल्छु नि भनेर सम्झाई बुझाई गर्नुस् जुट्न र जुटाउन गारो हुन्छ यत्रो दुख गरेर आयौं र अब अझ अघि जा“दैछौ त अझ ओजिलो हुन खोज हल्का हुन नखोज्नुस् लेखनाथ पौडेलको उर्लदो खहरे ..धाकधक्कु भन्ने श्लोक बाचन गरेर तिघ्रा ठटाउने अवसर कसैलाई नदिनु भनेर सवैलाई काम लाग्ने कुरा हजुरहरुलाई गुरुले सम्झा“उनु भएमा झर्को नमानी धैर्यले ग्रहण गरिदिनुहुनेछ । 


(२०२९ सालमा सिन्धुली खुर्कोटको स्कूल छोडेर विराटनगर जाने म एक्लो विद्यार्थी थिएँ   सभ्य र ओजिलो शहरमा पढ्न जाने आफ्नो चेला कमजोर नहोस् भनेर गुरु रामप्रसाद गजुरेलज्यूले मलाई केही कुरा सम्झाउनु भा’को थियो, एकातिर पसिनाले निथ्रुक्क भै रहेको–श्रीमती लामखुट्टीले कानमा म्वाई खाएर दिक्क लगाईरहेको अर्काेतिर मोरंगे कलेजका गुरुलाई सिंह दरबारमा भेट्न जा“दा एक हप्तापछि पनि भेट्न पाउने नपाउने एकिन नभएको र अर्कागुरु कृष्ण पोखरेलले सरकार त आफ्नै कारणले  घेराबन्दीमा परिसक्यो भनेर आफ्नै गुरुहरुले टेन्सन दिइरहेको वेला आज एकाविहानै एक्कासी खुर्कोटे गुरुले सम्झाएको कुराको सम्झना आयो) । 


खानेपानी–ह्यूम पाइप, टिभी फ्रिजबाट मात्र होइन अग्राखका गोलियाभित्र सुतेर श्रीमान/श्रीमती/श्री/सुश्री–गोमन–राजगोमन–गनग्वारी करेत–ढोडिया–हरहरा–भाइपरः हरेउ, रसेल–धामन–विच्छी–लामखुट्टेले प्रवेश पाएकाले मात्र होइन, पुराना तराइबासी (मैथीली तथा नेपाली भाषी) सर्वसाधारण, नेता तथा हाकिमहरुले आफ्नो तराइलाई कहिले नदेखिएका  नयाँ तराई नागरिकको जिम्मा लाएर आफूले चाहिं काठमाण्डामौं महल ठड्याएर पनि होइन, या फेरि तराइबासी (नेपाली तथा अन्य स्थानीय भाषभाषी)ले बहिस्कार गरेका तराइसंग टाँसिएको छिमेकीले नै पठाएका अस्वीकृत फलफूल यहाँ   भित्र्याएर होइन, माइतीघर मण्डला बेलाबेलामा तातेर पनि होइन, अवकाश भएका सहसचिव र सचिव सार्वजनिक यातायातलाई कुरिरहेका ठाउँमा भर्खर नयाँ गाडी किनेका खरिदार साहवले ह्वाँ  पार्दै एस्सेलेटर र हर्न दवाएर वातावरण तताएको कारणले मात्र पनि होइन न त देशमा  सूर्यनारायणले राजपाठ सम्हालेकाले नै हो ? 


 खै किन हो किन अहिले असाध्य गर्मी/रौदी बौवा बढेर राजधानी यो उपत्यकाको नयाँ  नामाकरण भएर काठमाडौं तराई उपत्यका भन्न थालिएको भन्ने गाईगुइ  चलेको छ है । यहाँको त यो हालत छ भने महाभारत दक्षिणदेखि सुगौली सन्धिले अंशबण्डा गरेको सीमालाई छिमेकीले उत्तरतिर खोस्रिदै हालसम्म बाँकी बचेको दक्षिणको हाम्रो तराईको हालत के होला !


हिजो २०७६ असार २० गते गर्दनमाथि र गर्दन मुनिको शरीर रोएर पसिनारुपी आसु खसिरहेको अवस्थामा चेहरा पुस्तकमा पूर्व खानेपानी तथा सरसफाई सचिव भीम उपाध्ययाले बौद्धमा मजाले पानी परेको फोटो राखेपछि बर्षा रानी हाम्रो नयाँ  ठिमीतिर पनि पधारछिन् कि भनेर ‘तिमी आउँछेउ भन्ने आशा आशैमा ...’ गीत गुनगुनाउँदै बाहिर निस्केको त भंगेरा काग कराउँदै झुम्मिए । बर्षरानीले यिनलाई पनि आउने आशामै भुलाइछिन भन्ने ठहर गरियो र उमालेर फिल्टर गरेको एक लिटर खानेपानी राखेदिएपछि खुसीले पंखेटा फिजाउँदै नाच्न थाले । 


गमलाका फूल नून खाएका कुखुराजस्तै लत्रेका रहेछन् । इनारको पानी हाल्न मिटर चालु गरेको त गधा कराए जस्तो करायो, किन करायो भनेर बुझ्दा त इनारको आँत नै सुकेछ । नगद मै किनेर हालेको ट्याङ्करको भ्यागुते पानी बाल्टीमा भरेर फूलहरुलाई आचमन गराइयो । छिमेकीको खाली घडेरीमा रोपेको मकैका धान चमराले आशालु नजरले हेरेपनि बाबुनानी हो शीत खाएर बाँच भनेर मनमनै सम्झाएँ । भतभती पोलेको शरीर लिएर घरभित्रै पसियो । 

 


एकछिन पछि छिमेकीले पानी आयो भन्दै कराएको सुनेपछि बाहिर निस्केको त के को बर्षारानी पानी आउनु मूड चलेको   बेला  मात्र छोड्ने दधिकोटे ट्याङ्कीको पो पानी रहेछ । दश लिटरको भाँडो भरिन आधाघण्टा लागेपछि खानेपानी समितिको नभए धरती पितामध्ये कुनै एकको प्रोस्टेट बढेको हुनुपर्छ भन्ने ठोकुवा नै गरियो । 

 

 गर्मीले निन्द्रा लागेन । मनमा यस्ता कुरा खेल्न थाले–आ ! पानी परे झन् सास्ती बाटो हिलो भएर झोलामा अतिरिक्त जुत्ता र पाइन्ट बोक्नु पर्ने, जिल्ला दैवी प्रकोप समितिलाई टेन्सन, राहत बाँड्नु पर्दा पीडित भन्दा स्थानीय ठूलाठालुको हैकम, कहिले प्राकृतिक प्रकोप आउला र खाउला भनेर प्रतिक्षा गरिरहेका भूत पिशाचहरु दाह्रानंग्रा फिजाउँदै हि हि हू हू गर्दै  जाग्न त पाउँदैनन् नि । कलेज जाने नानीहरु हुन या आफ्नो कार जीप नभएका बजार डुल्नेको मेकअप पनि पखालिदैन, निथ्रुक भिजेका महिलालाई कुनियत भएकाहरुको आँखा पनि त लाग्दैन भनेर चित्त बुझाउन पनि खोजें ।


 तैपनि, पसिनाले निथ्रुक्क भिजेको गञ्जीले बर्षारानी कै पक्षमा यस्तो सोच्न बाध्य पा¥यो– आ ! बर्षा भए ठण्डा हुन्थ्यो अनि विद्युत चोरेर बेच्ने र कुलमानलाई बद्नाम गर्नेहरुको चलखेल निरुत्साहित हुन्थ्यो । गर्मीले गर्दा पकौडा–मःम–चाट–जेरी स्वारी हलुवा–समोसाको खाजा पसल सुकेर आइस क्रिम र चिसो पेयको स्टोर मात्र फस्टाएकोमा रिसले मुरमुरिएको पकौडालगायतका खाजा पसलेले बर्षा रानीको जमेर स्वागत गर्न पाउँथे ।

 

नेताहरुले पनि रोपाई गरेको फोटो चेहरा पुस्तकमा राख्न पाउँथे । खोला खहरे तरेर जाने स्कूल बन्द भएपछि केटाकेटीहरुले बाख्रा गाईगोरु भैंसी हेरिदिने भएकाले घरका अरुले रोपाईमा व्यस्त हुन पाउँथे । कलेज जाने नानीहरु हुन या आफ्नो कार जीप नभएका बजार डुल्नेको चेहरालाई अल्ट्राभायलेट किरणले पनि सुमसम्याउँदैन भनेर सोच्दासोच्दै रात निकै छिप्पिसकेपछि अलि ठण्डा भएकाले विस्तारै निदाएछु । 


गड्याङ्गगुडुङ्ग आवाजले निन्द्रा भत्कँदा  विहानको सात नाघिसकेको थियो । यो आकाशे आवाजले पक्कै पनि  मेरो जस्तै बस्तीको अरु सृष्टिको सबै प्राणीको मन मयूरजस्तै नाच्न थाल्यो होला भन्ने प्रफुल्लता लिएर बाहिर बाटोमा निस्केको त बर्षा रानीको आगमन भयो । रमाइलो मानेर भिज्दै हत्केला पसार्दै ठूलठूला थोपाले औला हत्केलामा छोएको आनन्दले मन त मयूरको भाले भएछ । अनि बुढेसकालमा तन्नेरीले गाउँने गगन विरहीको गीत पो गाउँन थालेछु– ‘‘...औला छोइ देउ बाचा गरेर, जीवनको गीत तिमी नै भनेर, पानीको रिमझिम बर्षादको बेला ...’’
 

प्रतिकृया दिनुहोस