• बुधबार-कार्तिक-२८-२०८१

सडक पाइलटसँग अन्तरंग : मजस्ता नयाँ व्यवसायीलाई गार्हो भो : सुमनशमशेर कुँवर

(मान्छेको जातै असन्तुष्ट हो । त्यही असन्तोषले नै उसलाई शिखरसम्म पु¥याउँछ । चाहना बढाउँछ । तर सबैको असन्तुष्ट सफल हुन्छ भन्ने पनि छैन । सडक पाइलट सुमन शमशेर कुँवर पनि असन्तुष्टमध्येमा पर्छन् । तर उनलाई सबै कुरा सुदृढ हुन्छ भन्ने दृढ विश्वास छ । उन्नतिको शिखरमा पुगौंला भन्ने आशा छ । बा १ ख ९९५५ नम्बरको गाडीका स्वरोजगार काभ्रेका २७ वर्षे युवा कुँवरले आफ्नो जीवनको आरोहअवरोह साँघु प्रतिनिधिसंग सडक पाइलटसंगको अन्तरंगमा यसरी खोलेका छन्–सम्पादक)
 
० कति भयो गाडीलाइनमा आएको ? 
–१० भयो यो लाइनमा आएको । 


० के गर्नुभयो ? 
–ढोकामा बसियो ३ वर्ष । 


० अनि त्यसपछि ? 
–लाइट गाडीको लाइसेन्स लिएँ । ठूलो गाडीको पनि लाइसेन्स लिन्छु भनेको उमेरले पुगेन । गाडी चलाउन पाइएन । 


० के गर्नुभयो त त्यसो भए ? 
–म मलेसिया गएँ ।


० गाडी चलाउन ? 
–गाडी चलाउन हैन । त्यहाँ गएर मैले तीन वर्ष होटलमा काम गरें । राजधानी क्वालालम्पुरमा जापानिज् रेष्टुरेन्ट थियो । त्यसमै काम गरें । 


० त्यसपछि ? 
–त्यसपछि म नेपाल फर्कें । ठूलो गाडीको लाइसेन्स लिएँ । अनि नेपाल यातायात किनेर चलाइरहेको छु । तीन वर्ष भयो यो गाडी आफैले चलाएको । 


० कस्तो छ त गाडीलाइन ? 
–मलेसियामा कमाएको पैसा गाडीमा हालियो । रहर त पूरा भयो तर मजस्ता नयाँ र स्वरोजगार व्यवसायीलाई गार्हो भयो । 


० के गार्हो भयो नि ? 
–सिन्डिकेटले पूरा घाटा भयो । सिन्डिकेट हटेपछि गाडीको भाउ सस्तो भयो । आफूले तीन वर्ष अगाडि २६ लाख रुपैयाँ हालेर सेकेन्ड हेन्ड गाडी किनियो । अहिले बेच्दा आधा पैसा पनि आउदैन । ममात्र हैन मजस्ता नयाँ र स्वरोजगार लगानीकर्ताहरू थुप्रै घाटामा परेका छौं । 


० कसरी त्यस्तो भयो ? 
–अहिले ५÷६ लाख डाउन पेमेन्ट भयो भने नयाँ गाडी नै सजिलै आउँछ । आफूले त्यतिबेलै त्यति महङ्गो हालियो । नयाँ गाडी नै थोरै डाउन पेमेन्टमा पाइन्छ भने कसले पुरानो गाडी किन्छ ? अनि हाम्रो गाडीको भ्यालु पनि घट्यो नि । सिन्डिकेट हटेर दर्तादेखि धेरै चिजमा घाटा भयो । 


० सरकारले सिन्डिकेट हटाएको गलत हो ? 
–सिन्डिकेट हटाएको त ठीकै हो । तर, नयाँ गाडी किन्नेलाई मात्र सही भयो । पुरानो गाडी किन्ने नयाँ व्यवसायी मर्कामा प¥यौं हाम्रो गाडीको भ्यालु घट्यो । 


० सरकारले के ग¥यो भने ठीक हुन्छ ? 
–सरकारले सुविधा त केही दिँदैन । १९÷२० प्रतिशत ब्याज तिर्नु परिरहेको छ । अब यो लाइनबाटै पलायन हुने अवस्था आउँदैछ । आधा नै घाटा भइसकेको छ । 


० के गर्नुहुन्छ त अब ? 
–अब ऋण तिर्न पनि साउदी अरेबिया जाने सोचमा छु । 


० गाडीबाट कमाई छैन ? 
–रुट फेरेपछि आधा नै कमाइ घटेको छ । नेपाल यातायातमा पनि हामीले कम्पनीमा दर्ता गरेर सार्वजनिक नेपाल यातायात चलाएका छौं । कम्पनीमा जान चाहने २९ गाडीले मिलेर हामीले नयाँ चलाएका हौं । उल्टो रुट परेकाले तीन चार महिना त यात्रु झुक्किए । कमाई घट्यो । अहिले बिस्तारै कमाई हुँदैछ । 


० अहिले समिति पनि छ ? 
–समिति छ । समिति हट्ने भनेर त भन्छ सरकार । तर १५–२० दिन म्याद थपेको थप्यै गरिरहेको छ । 


० तपाई बाहिर गएपछि गाडी के हुन्छ त ? 
–निर्णय भइसकेको छैन । सोच हो । मेरो भाइ पनि छ । अर्को गाडीमा बस्छ । म गएँ भने यो गाडी भाइले हेर्छ । म साउदी गएर आएँ भने ऋण चुक्ता गर्न सजिलो हुन्छ कि भन्ने हो ।

 
० कति पढेर छाडियो ? 
–एसएलसी पास गरियो २०६६ सालमा सेकेन्ड डिभिजनमा । पढ्न खासै मन पहिले पनि लाग्ने हैन । त्यसपछि साथीहरूको लहलहैमा लागेर गाडी लाइनमा छिरियो । 


० पछुतो लागेको छैन पढ्न नपाएर ? 
–पछुतो छैन । खासै पढ्न मन नलाग्ने भएरै गाडी लाइनमा छिरियो । पहिलेदेखिकै इच्छा थियो गाडी चलाउने । हाम्रो गाउँमा धेरै हुनुहुन्छ यो लाइनमा । 


० के रै’छ त ड्राइभरको जिन्दगी ? 
सानोमा रमाइलो लाग्थ्यो । अहिले ट्राफिक प्रहरीको समस्या, गाडीको जामले दिक्क लाग्छ । सानो गल्ती गरे पनि ट्राफिक प्रहरीले चिट काटिहाल्छ । अहिले पेशा खत्तम जस्तो लाग्छ । 


० सोचेको पुगेपछि कसरी खत्तम भयो त ? 
–सानोमा सोचेको त हो । तर, नेपालको हालतले गर्दा पछुतो भएको हो । कि त धेरै नै लगानी गरेर धेरै गाडी किन्यो भने हो । हामीजस्तो ८÷१० लाख लगानी गरेर गाडी चलाउनु ठीक हैन । 


० सरकारले रोजगारीका लागि विदेश गएकालाई स्वरोजगार बनाउन खोज्दैछ । तपाई विदेश जान खोज्दै हुनुहुन्छ ? 
–सरकारले मान्छे ल्याएर थुपार्ने मात्र हो । काम दिन सक्दैन । विदेशमा ८०० रुपैयाँ कमाउनु र यहाँ १२०० कमाउनुमा त्यही ८०० ले जित्छ । यहाँ कमाएको पैसा घर पुग्दा ५०० मात्र बच्छ । अनि के गर्ने ? पैसा बचाउनै सकिँदैन । यहाँ महंगी बढी भयो । 


० तपाई त शमशेर पो त हैन ? 
–हो । साथीभाइले सुमन हैन शमशेर नै भनेर बोलाउँछन् गर्व लाग्छ । अरु त के हुन्थ्यो र १

प्रतिकृया दिनुहोस