• शुक्रबार-बैशाख-१४-२०८१

चाकडीबाज नै राजदूतमा सिफारिस !

 

काठमाडौं । स्पेनमा दूतावास स्थापना गर्ने कुरा मै सबैभन्दा बढी प्रश्न थियो । त्यो देशको नेपाली दूतावास  आवश्यक हो कि होइन भनेर प्रश्न मात्र उठेको थिएन ६ महिनासम्म कार्यालय तयार हुन पनि सकेको थिएन । जसले गर्दा सोर्सफार्समा राजदूत भएका पूर्व जर्नेल भरत रायमाझी बेकामे भएर बसे । स्वच्छ छवि र कूटनीतिक दख्खल नभएपनि राजदूत बन्ने मौका पाए । पूर्व जर्नेल भरत रायमाझी जो नेपाल आर्मीमा भर्ना काण्डमा परेर लगभग एक करोड दण्ड तिरेका थिए । उनी राजदूत नियुक्त भएपछि पनि झन्डै ६ महिना बेकामे भएर बिताए । तर, जब उनले काम गर्न थालेका थिए राजदूतबाट फिर्ता हुन बाध्य भए । खासमा तत्कालीन मन्त्री कमल थापाको कोटाबाट त्यहाँको राजदूतमा नियुक्त हुने मौका पाएका थिए । तर, रायमाझीलाई फिर्ता बोलाईयो ।

 


  नेकपाको सरकारले एकजना ब्यवसायीलाई काखी च्यापेर राजदूत बन्ने अवसर दिइएको छ । पूर्व एमाले नेताहरूसंगको निकटको सम्बन्धका कारण थामसेर्कु टे«किङ र यति एअरलाइन्स समूहले ओली सरकारबाट विभिन्न फाइदा लिंदै आएको छ । राज्यशक्तिको दोहनमा शक्तिको पहुँच विस्तार गर्दै लैजाने क्रममा यति एअरलाइन्स समूहले व्यापारलाई पनि राम्रैसंग विस्तार गरेको छ । त्यही क्रममा नेकपाको सरकारले यो समूहका लागि राजदूत पद नै उपहार दिएको छ ।

 

थामसेर्कुका मालिक सोनाम शेर्पाकी छोरीलाई स्पेनको राजदूतमा सिफारिश गरेको छ । दक्षता, क्षमता, कूटनीतिक अनुभव भएको भए पनि पर्यटन व्यवसायको क्षेत्रको परिवारले राजदूत पाउनु राम्रै मानिन्थ्यो होला । सोनामकी अविवाहित छोरी दाफुटी शेर्पा राम्रो कूटनीतिक क्षमता भएकी युुवती पनि होइनन् । कलिलै उमेरकी अविवाहित शेर्पालाई भर्खरै दूतावास खोलिएको देशमा पठाउनु आफैमा जागिर दिनुबाहेक उपलब्धि शून्य हुने चर्चा पराष्ट्र मन्त्रालयमा हुने गरेको छ । 

 


वैदेशिक मामिलामा दख्खल नभएकाहरू, कूटनीतिक क्षेत्रको अनुभव शून्य र हैसियत नभएकाहरूका साथै बद्नामहरूलाई राजदूत जस्तो देशकै प्रतिनिधित्व गर्ने पदमा नियुक्ति गर्दा तलबभत्ता खुवाउने बाहेक अरु अपेक्षा गर्न नसकिने टिप्पणी कूटनीतिक क्षेत्रका ब्यक्तित्वहरूले गर्ने गरेका छन् । यस्तै नियुक्तिले गर्दा नेपालको कूटनीतिक क्षेत्रको हैसियत प्रष्ट पारिदिने टिप्पणी हुने गरेको छ । 

 


यस्तै प्रचण्डको कोटाबाट अष्ट्रेलियाका लागि राजदूत बन्ने अवसर पाएका नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष हुँदा कार्यक्षमता नभएर असफल भएका महेशराज दाहाल अर्का विवादास्पद र बद्नाम व्यक्ति हुन् । कांग्रेस पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको सोर्सफोर्सबाट नेपाल टेलिभिजनको अध्यक्ष बन्ने मौका पाएका दाहाल प्रचण्डलाई नाता लगाउँदै नेकपामा प्रवेश गरे । माओवादीमा त्याग, तपस्या, बलिदान गरेका, कूटनीतिक अनुभव भएका सबैलाई पछारेर प्रचण्डको जोडबलमा राजदूत जस्तो महत्वपूर्ण पदका लागि सिफारिस हुन पुगेका छन् । नेपाल टेलिभिजनको कोहलपुर स्टेशन भ्रमणमा गएका बेलामा महेशराज दाहालले सबैको सामुन्ने गेटको ढोकालाई ‘रेस्ट रुम’ प्रयोग गरेर बद्नामी कमाएका थिए । 

 


 महेशराज दाहाल एनटीभीमा रहँदा पदको गरिमा, मर्यादाको ख्याल नगर्ने भनेर चर्चित छन् । दाहाल वरिष्ठ अधिकृतहरूको बैठकमा समेत अमर्यादित, अशिष्ट शैलीमा प्रस्तुत हुने गरेका थिए । कूटनीतिक शैली र सामान्य शिष्टता समेत नभएका ब्यक्तिलाई हचुवाको भरमा अष्ट्रेलिया जस्तो विकसित मुलुकका लागि राजदूत सिफारिस गर्नु देशकै दुर्भाग्यका रुपमा नेपालका बुद्धिजीवीहरूले लिएका छन् । नेकपाका अध्यक्ष प्रचण्डले यस्तै व्यक्ति बोकेर हिड्ने गरेकाले बद्नाम हुने गरेको एकजना पूर्व माओवादी नेताले टिप्पणी गरे । 

 


देशको छवि सुधार गर्नेभन्दा पनि चाकडीबाजहरूलाई काखी च्यापेर जागिर दिने र पार्टीका एक से एक होनाहार कार्यकताहरूलाई चिढ्याउने काम प्रचण्डबाट  हुने गरेको पछिल्लो उदाहरण नेकपाका ‘चैते’ कार्यकर्ता महेशराज दाहाललाई बनेका छन् । पार्टी एकरत्ति योगदान नभएका यस्ता ब्यक्तिलाई प्रचण्डले राजदूूतमा  सिफारिश गर्नु  लाजमर्दो विषय भएको नेपालको कूटनीतिक वृत्तमा चर्चा छ । 
 

प्रतिकृया दिनुहोस