• बिहीबार-असार-५-२०७६

थातथलो खोसिने भएपछि तामाङ बस्तीका बासिन्दा बिचल्लीमा

 

 गौशाला, २७ जेठ : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा ५० वर्र्षदेखि बसोबास गर्दै आएका रामबहादुर पाख्रिन अहिले घरबारविहीन हुने भयले रातदिन चिन्तामा डुबेका छन् ।

 

रामबहादुर पाख्रिनका बुबा भक्तबहादुर पाख्रिनले सिन्धुलीबाट बसाइँ सरेर २०२६ सालमा महोत्तरीको बर्दिबासमा आएर बसोबास गरेको थियो । बुबाको मृत्युपछि रामबहादुर आफैँ र निजका छोरा तथा नातिहरु प्नि बस्दै आएको घरजग्गा अरूको रहेको अचानक थाहा पाएपछि उनी छानोबाट झरे झैँ  भएका छन् । 

 

विगत तीन÷चार पुस्तादेखि बर्दिवासको सात बिघा जग्गामा ११ घरधुरी तामाङ बिना कुनै बाधा अड्चन र रोकटोकका साथ बसोबास गर्दै आएको छ । तर पुस्ताँैदेखि आफ्नो रहेको घरबार अहिले अरूको रहेको थाहा पाएपछि सो बस्तीकी अम्रिता लोप्चन पनि बौलाही जस्तो भएकी छिन् । उनले खान, पिउन छाडेकी छिन् भने राति रात बर्बराउने तथा घरपरिवारका सदस्यहरुलाई गाली गर्ने गरेकी छिन् ।

 

उनी मेरो घर, मेरो सम्पत्ति, मेरो वस्तुभाउ अरूले लैजान लागेको भन्दै पटक पटक उठ्ने र घरबाट भाग्ने जस्ता क्रियाकलाप गर्दछिन् । उनी जस्तै हालत स्थानीयवासी सुनमाया पाख्रिनको पनि छ । उनको पनि होसहवास नरहेको, खान पिउन छाडेको र २४ घण्टा घरबार र श्रीसम्पत्तिकै चिन्ता लिइरहेकी छिन् । उनले आफ्नो बाबुबाजेको थातथलो अरूको हुनै सक्दैन । अरूको भएको भए, बाबुबाजेले भन्ने थिए । तर कसैले केही नभनेकामा निक्कै उदास र अचम्मित छिन् ।

 

सोही बस्तीका वीरबहादुर मोक्तान आफ्ना साखासन्तान र जहानपरिवारसहित वर्षौंदेखि बसोबास गर्दै आएका घरबार र जग्गाजमीन अरूको रहेको जानकारी पाएपछि विश्वास गर्दैनन् । उनले आफू वर्षौंदेखि जोतभोग गर्दै आएको खेतबारी, वर्षांैदेखि बस्दै आएका घरबार अरूको कसरी हुन्छ भने प्रतिप्रश्न गर्छन् । यति अरूको हो भने यतिका वर्षसम्म किन खोजबिन गर्न आएन् भनी सवाल खडा गर्न थालेका छन् । 

 

यी चार जना त प्रतिनिधि पात्र मात्रै छन् । तामाङ बस्तीमा उनीजस्ता ११ घरधुरीका दर्जनाँै महिला, पुरुष, वृद्धवृद्धा, युवायुवती र बालबालिकाहरुलाई यो बस्ती र घरबार आफ्ना नरहेको थाहा पाएपछि होस् उडेको छ । उनीहरु अब कहाँ जाने, के गर्ने, कसरी बस्ने, के खाने र जीवनभरि यहीँ बसेर जोडेका श्रीसम्पत्ति अब के हुने भन्दै आत्तिएका छन् । 

 

त्यस बस्तीका धेरै जसोले बरु यही मर्ने तर थातथलो नछाड्ने भन्छन् । भने धेरैले आफूलाई हटाउन आउनेसँग आफू पनि लड्ने तर आफ्नो घरबार त्यति सजिलै नछोड्ने भन्छन् । ५० वर्ष पूर्व २०२६ सालमा खाली र ऐलानी चौर रहेको भन्दै ११ घरधुरी तामाङले बसोबास गरेको, त्यहाँ पक्की कच्ची विभिन्न प्रकारको घर बनाएको र रूख, बिरुवासहित खेतीबारीसमेत लगाइएको ती जग्गा अहिले तत्कालीन बर्दिबासका (राजा साहेब) को नाउँले चर्चित जमिदार नीरबहादुर हमालको रहेको खुलासा भएको छ ।

 

कतिले त्यस बस्तीमा ११ घरधुरी तामाङलाई राजा साहेबले नै बसाउनुभएको र उनले नै ती तामाङहरुलाई स्थायी रुपमा घरबारसमेत बनाई दिनुभएको बताउँछन् भने कतिले राजा साहेबलाई आफ्ना बाबुबाजेले केही दिनसम्म कुत बुझाएर त्यहाँ बसेको बताउँछन् ।

 

यसैबीच बर्दिबास नगरपालिका–१ मा सात बिघा क्षेत्रफलमा फैलिएको ती बस्तीको सम्पूर्ण जग्गा राजा साहेबले जनता मावि बर्दिबासको नाउँमा दर्ता गरिदिनुभएको खुलासा भएको छ । अहिले त्यस विद्यालयको सम्पत्ति खोजबिन हुन थालेपछि तामाङ बस्तीको सात बिघा जग्गा सो विद्यालयको रहेको खुलासा भएको छ । 

 

जनता मावि बर्दिबास प्रधानाध्यापक दिलीप कुमार तिवारीले त्यस विद्यालयको संस्थापक अध्यक्षसमेत रहेका नीरबहादुर हमालले विद्यालयलाई सात बिघा जग्गा दान दिनुभएको बताए  ।

 

सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बर्दिबासमा त्यस विद्यालयको नाउँमा जम्मा २१ बिघा जग्गा रहेको र सात बिघामा पैmलिएको तामाङ बस्ती पनि विद्यालयकै रहेको बताउँदै अब विद्यालयले ती बस्ती खाली गराउन पहल गरेको बताए  ।

 

उनले त्यस बस्तीमा विद्यालय, प्रशासन, प्रहरी तथा दाता परिवारसहित नागरिक समाजका अगुवासहितको टोलीले पनि स्थलगत निरीक्षण गरेर स्थानीयवासीलाई वास्तविकता बताएका छन् भने उनीहरुलाई के कसरी, कहाँ कुन रुपमा व्यवस्थापन गर्ने गराउने बारे सबै सरोकारवालाहरुसमेत सक्रिय भएको बताए  । तर जे जसो भए पनि, सो तामाङ बस्तीमा अहिले भुइँचालो आएजस्तो भएको छ भने त्यहाँ बस्दै आएका दर्जनाँै व्यक्तिहरु बिचल्लीमा परेका छन् । 
–––

प्रतिकृया दिनुहोस