• शुक्रबार-चैत-१६-२०८०

माधव नेपाल कसैसँग डराउँदैन, कसैसँग काम्दैन 

 

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल एक प्रभावशाली कम्युनिष्ट नेता हुनुहुन्छ । उहाँले तत्कालीन एमालेको नेतृत्व सम्हाल्नुभयो । माओवादीसंग एकता गरेपछि पनि उहाँ सशक्त हुनुहुन्छ । वरिष्ठ नेता हुनुहुन्छ । स्पष्ट वक्ता नेपालसंग नेकपाको अबको कार्यदिशा तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छौं–सम्पादक) 

 


० पार्टी एकताको एक वर्ष पनि पुग्यो । पूर्णरुपले भयो त अब ? 
–हुँदैछ । पार्टी एकता त निःसन्देश ढिला भयो । तीन महिनाभित्रै पार्टी एकता सकिनु पर्दथ्यो । विभिन्न कारणले ढिला भएको छ । तर, अब ढिला भएपनि जिल्लाको एकता बढेको छ । प्रदेश, केन्द्र सबैको हुँदै जान्छ । केन्द्रीय निकायको पनि टुंगो लाग्दै जाला । जिम्मेवारी बाँडफाँड हुँदै जाला ।

 


० कारण के हो त पार्टी एकता ढिला हुनुको ? 
–विभिन्न कारणले ढिलाइ भयो । पार्टी एकता ढिलो हुनुको कारण खोज्दै गयो भने विवाद आउँछ । अब विवादतिर लाग्ने होइन एकतातिरै लाग्ने हो । कारण खोजेर आरोप प्रत्यारोप गर्ने विवाद बढाउने हैन । कराउँदै हिँडेर समाधान हुँदैन । माधव नेपाल कसैसंग डराउँदैन । कसैसंग काम्दैन । बोल्ने ठाउँ छ । कमिटी छ । त्यसमै बोल्छ माधव नेपाल । 

 


० जतिसुकै नडराए पनि अन्तिममा गएर अध्यक्ष केपी शर्मा ओलीसंग सम्झौता गर्नुहुन्छ क्यार ? 
–माधव नेपाल जोसंग पनि राम्रा काममा सम्झौता गर्न सक्छ । सही कुराका लागि जोसंग पनि सम्झौता गर्छ । नराम्रा कामका लागि जोसंग पनि लड्छ, भिड्छ । 

 


० पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन भयो त ? 
–त्यसकै लागि हामी अगाडि बढिरहेका छौं । असम्भवलाई सम्भव पार्ने क्षमता हामीमा छ । यत्तिकै आएको हैन । इतिहास पार गरेर हामी यहाँसम्म आएका हौं । धेरैजसो नेताहरू त्यस्ता हुनुहुन्छ । 

 


० तपाईले भनेजस्तै भएको छ त पार्टी एकतामा ? 
–पार्टी एकता मोटामोटी रुपमा मैले भने जस्तै भएको छ । कहीं न कहीं त सम्झौता गर्नैपर्छ । केही हदसम्म गर्नैपर्छ । अनेक मोड आउँछन् । त्यसलाई हामीले पार गर्ने प्रयास गरिरहेका छौं । ठूलो त्याग, तपस्या, मिहिनेत, पसिना र ज्यानको बाजी लगाएका छौं । यत्तिकै यत्रो ठूलो कम्युनिष्ट पार्टी बनेको हैन । 

 


० गुटैगुटको व्यवस्था गर्न किन नसकेको त ? 
–गुटमा हैन सिस्टममा जानुस् सबै हल हुन्छ । अब गुटको ब्यवस्थापन पनि सुरु गर्छौं । हाम्रँे पार्टीभित्र भ्रष्टाचार, डन प्रवृत्ति, गलत प्रवृत्ति छन् भने छोडिँदैन । प्रदूषित कल्चर हटाएपछि ठीक हुन्छ । यो पार्टीलाई क्रान्तिकारी अभियानमा अगाडि बढाइन्छ । पार्टीभित्र शुद्धीकरण अभियान सुरु गरिन्छ । पार्टीलाई जनमुखी बनाइन्छ । निर्देशनको पालना नगर्नेलाई हटाइन्छ । शिष्टता नहुनेलाई हटाइन्छ । 

 


० एकता महाधिवेशन चाहिं कहिले होला त ? 
– एकता महाधिवेशन  अब एक वर्षभित्र त नहोला । जिल्ला, प्रदेश, जनवर्गीय संगठनका निर्वाचन गर्नुप¥यो । त्यसपछिमात्र एकता महाधिवेशन हुने हो । एक वर्षभित्रै त नहोला । तर डेढ वर्षभित्र गर्न सकिन्छ । गर्नु पनि पर्छ ।

 


० अब नेकपामा डनबादको उन्मुक्ति हुन्छ ? 
–यो प्रवृत्ति हो । डनबाद छैन । भ्रष्टाचारको प्रवृत्ति देखिन सक्छ । हाम्रो पार्टीमा जनतालाई मायाँ नगर्ने प्रवृत्ति हुन सक्छ । जनतालाई बेवास्ता गर्ने प्रवृत्ति हुन सक्छ । हामी दाँत फोहर भएपछि ब्रस गर्छौं । ती विकृति हटाउँछौं । समाजमा भएका विकृति विसंगति शरीरमा आउँछन् । ती हटाइन्छ । कम्युनिष्ट पार्टी पनि त्यही हो । आलोचना गरेर । सम्झाइबुझाइ गरेर सम्झाउने । आलोचना गरेर खोजी गरेर गुनासा सुनेर त्यस्तो प्रवृत्ति हटाउने । 

 


० नेकपाले भ्रष्टहरूलाई कार्वाही गर्ला त ? 
– भ्रष्टहरूलाई कारवाही हुनुपर्छ । किन नहुने । चिनियाँ पार्टीले कारवाही गरेको छ । हाम्रोमा पनि हुन सक्छ । सुटगरेको छ चीनले त । भ्रष्टलाई पार्टीमा ठाउँ दिनु हुँदैन ।  

 


० तर, बालुवाटारको जग्गाकाण्डमा मुछिए नेताहरू ? 
–बालुवाटारको जग्गा विस्तार गर्नु गलत हो र ? मैले नै सुरु गरेको हुँ त्यो बालुवाटारको ठाउँ विस्तार गर्न । तर, कुन प्लट कसको नाममा छ मैले हेर्ने हो र ? मैले त विस्तार गर्ने निर्णय  गरेको हो । कुनै ठाउँमा हवाइजहाज किन्न खोजियो भने मेरो काम हवाइजहाज किन्ने हो र ? पछि त्यसमा कसैले कमिशन खायो भने त्यसलाई पो कार्वाही गर्ने त । बाटो बनाउँदा कसैले खाए जिम्मा तपाईको हुन्छ ? कारखाना मैले खोलें भने भ्रष्टाचार गरे म पर्ने हो ? बालुवाटारको जग्गामा जो कोही परेको छ भने कार्वाही गर्नुपर्छ ।

 

मलाई के थाहा हुन्छ कि कसैको व्यक्तिगत जग्गा हो ? मैले सबै त हेर्दिन नि । माफियाले के गर्छ भन्ने कुरा प्रधानमन्त्रीलाई कसरी थाहा हुन्छ । कृष्णप्रसाद भट्टराईलाई थाहा थियो सिंहदरवारको जग्गा खुम्चाउँदा ? माफियाले गर्ने काम कुनै प्रधानमन्त्रीलाई थाहा हुँदैन । हामीले त कामको नीतिगत निर्णय गर्ने हो । पछि काम गर्दै जानेले खान्छन् भने जो जो मिलेका छन् निष्पक्ष भएर खोजौं । अनि कारवाही गरौं । 

 


० तर, पार्टी महासचिव विष्णु पौडेल मुछिनु भयो नि ? 
–त्यो २०६१ सालको कुरा हो । म ६६ सालमा प्रधानमन्त्री भएको हुँ । मलाई त थाहा पनि थिएन । विष्णु पौडेलले भन्न आएका पनि होइनन् । बालुवाटारमा जसरी सबै काम भएको छ त्यसो गर्नु हुँदैन । सचिवालयको काम छुट्टै बनाउनु पर्छ । मैले छुट्टै घर बनाउनु पर्छ भनेर लागेको थिएँ । सचिवालय त्यही राख्ने भनियो । मैले हेरें । प्रधानामन्त्रीको सुत्ने कोठा र अर्को कम्पाउन्ड यति नजिकै छ । प्रधानमन्त्रीलाई अर्को घरबाट कसैले सुट गर्न सक्दथ्यो । सुरक्षा पटक्कै भएन । सरकारी जग्गा भए बढाउने मेरो योजना थियो । मुख्यसचिवबाट थाहा भयो अर्कोतिर पनि सरकारी जग्गा छ । त्यसपछि प्रक्रिया अगाडि बढ्यो । मैले ठाउँ सानो भएपछि बालुवाटारबाट प्रधानमन्त्री कार्यालय नै हटाउन खोजेको थिएँ । बालुवाटार खोजेर कहाँ राख्ने ? काठमाडौं उपत्यकाभित्रका खाली ठाउँ खोजें ।

 

दुई वर्ष समय लगाउँदा पनि कहीँ पाइएन । खाद्य संस्थानमा हेरें । होचो । अनि सिंहदरवार उत्तरतिर हेरें । काठमाडौं उपत्यका प्राधिकरणमा । त्यहाँ पनि थोरै । अनि फेरि बालुवाटरलाई बढाउने कुरा भयो । सरकारले जग्गा लियो । त्यसपछि भएका घोटालामा दोषीलाई कार्वाही गर्नुपर्दथ्यो । मेरो बदनियतको प्रसङ्ग उठ्छ भने म हरेक प्रसङ्ग उठाउँछु । अरुले गल्ती गरेको कुरा मलाई मुछिन्छ भने त्यो त हुँदैन । मैले बदमासी गरेको छु भनेमात्र म डराउने हो । बालुवाटर विस्तार गरेर ठीक ग¥यो भनेर भन्नुको सट्टा मलाई नै कार्वाही गर्न खोज्ने ? मैले त सरकारी गराउन खोजें । त्यहाँ भूमाफिया लागेका थिए । 

 


० देशैभर सार्वजनिक जग्गा व्यक्तिका बनाए नि ? 
–जसलाई जिम्मा दियो उसैले खाइदिन्छ । अख्तियारबाट छानबिन गर्न गएकाले उतै खाइदिन्छ । छानबिन गर्न गएकाहरूको पनि सुक्ष्म सुपरभिजन हुनुप¥यो । पहिले तत्कालै बालुवाटारको जग्गाको छानविन हुनुपर्छ । बालुवाटारको जग्गाको काण्डमा जोसुकै बदमास होस् कार्वाही गर्नुपर्छ । मेरो बदनियतको कुरा आयो भने म प्रत्येक कुरामा प्रश्न उठाउँछु । कसैलाई बचाउन लाग्दिन । बालुवाटारको सरकारी जग्गा पूरै फिर्ता हुनुप¥यो । यहाँ त भूमाफियाहरूले कागजै बेपत्ता पारेको खबर छ । सबैले साथ दिनुप¥यो । सबै निकायले साथ दिनुपर्छ । साथ भएन भने ग¥यो ग¥यो फिस्स हुन्छ । 

 


सिंहदरबारभित्र त्यत्रा घर बनेका छन् । कसैले घोटाला गरे प्रधानमन्त्रीलाई कार्वाही ? जसले खाएको छ त्यसलाई कार्वाही गरौं । वन, नदीकिनार, गुठीलगायतका सबै जग्गा रोकिदिनुपर्छ । मेरो कार्यकालमा त मैले गरेकै थिएँ । जानकी मन्दिर जग्गाकाण्डमा मैले कमिटी पनि गठन गरेको थिएँ । तर पछि पुजारीले आफन्तलाई बाँडेर सक्यो । बालुवाटारका कागज बेपत्ता पारेको सुनिन्छ । मन्त्रालय, मुख्यसचिव त्यस्ताको काम हो नि सरकारी, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने त । सुरक्षा हेर्नुप¥यो । त्यसको छानबिन गर्नुप¥यो । 

 


० प्रधानमन्त्री ओलीले पनि सबै सरकारी जग्गा फिर्ता गर्छु भन्नुभएको छ नि ? 
–प्रधानमन्त्री ओलीको यो राम्रो कुरा हो । राम्रो काम गरे सधै साथ रहन्छ । नराम्रा काम गरे आलोचना गरिन्छ ।


० सम्बन्ध राम्रो छ अध्यक्ष ओलीसंग ? 
–प्रधानमन्त्री ओलीसंग मात्र होइन सबैसंग राम्रो सम्बन्ध छ । नराम्रो गरे कसैलाई साथ दिन्न । लडाइ गर्ने काम मेरो हैन । अस्ति मैले बाटो नबनाउने मन्त्री रघुवीर महासेठलाई पनि गाली गरें । माथिको हाकिम तलको ठेकेदार छ । सबैलाई कार्वाही गरौं । देश  र जनताको हितमा काम गरौं । उहाँले म गर्छु भन्नुभयो । ठीक छ गर्नुस् । 

 


० ओली सरकारले १५ महिनासम्म त जनताको काम गरेर मतदाताको मन जित्न सकेन होइन ? 
–प्रधानमन्त्रीले एक वर्ष आधार वर्ष रह्यो भन्नुभएको छ । संघीय राज्यका कानून थिएनन्, कानून निर्माण वर्ष हो यो । संरचना कायम गर्ने वर्ष रह्यो भन्नु भएको थियो । यदि हो भने अब पिकअप गर्ने वर्ष हो । आर्थिक वर्षको हुनुप¥यो । काम गर्नुस् । संसारका कुनै पनि देशमा एकै वर्षमा केही हुँदैन । मलेसिया, भारत, सिंगापुर कहीं पनि एक वर्षमा ठूलो उपलब्धि भएको इतिहास छैन । तर पनि सबैको सल्लाह लिनुपर्छ । 

 


० तर, जनतामा निराशा छाएको पाइन्छ नि त ? 
–छिटो काम गर्नुस् जनता उत्साही भैहाल्छन् नि । बाटो बनाइदिनुस् खुशी हुन्छन् । जथाभावी खाल्डो खन्ने अनि काम नगर्ने गर्न भएन । ठेकेदारलाई २० प्रतिशत एडभान्स दिने काम बन्द गर्नुपर्छ । जोसंग पैसा छैन उसले ठेकेदारी नगर्ने । ठेक्का पार्ने ठेकेदारहरूले पचासौं करोड, अर्ब रुपैयाँ सरकारसंग एडभान्स लिने जग्गा किन्ने अनि मालामाल हुने ? जोसंग इक्युपमेन्ट छैन, काम गर्ने ल्याकत छैन भने त्यस्तालाई करोडौं र अर्बौंको ठेक्का अनि करोडौं एडभान्स रकम किन दिने ? समयमै काम पूरा गर्न नसक्ने ठेकेदारलाई कडा दण्ड दिनुपर्छ ।

 

निर्धारित गुणस्तरको बाटो बनाएर भत्किएमा ममर्त गर्ने जिम्मा उसैको । ठेकेदारहरूको पनि केही गुनासो छ । न्यूनतम विधिहरू पालना गर्नैपर्छ । सरकारले बिजुलीका पोल हटाउँदैन, खानेपानीका पाइप राख्न दिँदैन । अनि अदालतले क्षतिपूर्ति नदिइ हुँदैन भन्दिन्छ । तसर्थ एकतर्फी हैन एउटै झ्यालबाट हेर्ने हो भने काम गर्न सकिन्छ । 

 


० यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्छ जस्तो लाग्छ ? 
– भ्रष्टाचार नियन्त्रण गर्न सक्छ । कम्युनिष्ट सरकारले नगरेर काँग्रेसले गर्छ ? यसै सरकारले गर्न सक्छ । जुनसुकै काण्ड होस् कसैलाई छोड्नु हुन्न । सुनकाण्ड, हायात काण्ड होस्, वाइडबडी काण्ड होस्, खानेपानी काण्ड वा बालुवाटार काण्डमा कार्वाही हुनुपर्छ । काम गर्न खोज्नेलाई पनि डन भन्ने गरिन्छ यो गलत हो । मैले रिस उठ्यो भने ठेकेदारलाई पनि गाली गर्छु । उनीहरू हामी निरुत्साहित भयौं भन्छन् । ठेकेदारको कुरा पनि सुनौं । सबैको साथ चाहिन्छ । 

 


० अन्त्यमा, मिडिया काउन्सिल विधेयक ल्याउन जरुरी ठान्नु हुन्छ ?
–मिडिया काउन्सिल विधेयक मैले राम्रोसंग हेर्न पाएको छैन । कहीं न कहीं मिडियालाई पनि नियन्त्रणमा राख्नुपर्छ । छाडा छाड्दा माहोल बिग्रिन्छ । नीति नियममा बस्नुपर्छ । तर मिडियालाई पनि अधिकार दिनुपर्छ । अधिकार र जिम्मेवारीबीच सन्तुलनको आवश्यकता छ । मिडिया पनि सीमाभित्र रहनु पर्छ । राष्ट्रघाती मिडियालाई कार्वाही गर्नुपर्छ । देश टुक्रयाउन खोज्ने केही मिडियाले मधेशमा त्यस्तो पनि गरे मधेश आन्दोलनका बेलामा । संसारको कुन देश छ जहाँ आफ्नो देश टुक्रयाउन खोज्ने छुट छ ? 

प्रतिकृया दिनुहोस