• बुधबार-कार्तिक-६-२०७६

धेरै सांसदहरूको गुजारा तलबले चल्दैन 

साँघुन्यूज डटकम सम्बाददाता

 

(गत महिना नुवाकोटस्थित एक मोटरेवल पुल हावाले उडाएको विषयले निकै चर्चा पायो । र, त्यो पुल निर्माणको ठेक्का लिएर सांसद् बहादुरसिंह लामा चर्को आलोचनाको सिकार बने । यो प्रकरणपछि निर्माण व्यवसायमा आवद्ध व्यक्तिको राजनीतिमा संलग्नतालाई लिएर अनेक प्रश्नहरू उब्जेका छन् । हामीले राजनीति र निर्माण व्यवसायलाई समानान्तर ढंगले अघि बढाइरहेका नुवाकोटका कांग्रेस सांसद् लामासँग निर्माण क्षेत्रमा देखिएका बेथिती, कठिनाइलगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः सम्पादक) 


० तपाईंले ठेक्का लिएको नुवाकोट र धादिङ जोड्ने पुल हावाले उडाएको विषय गत महिना निकै चर्चामा रह्यो । जनताको प्रतिनिधि भएर किन यस्तो आलोकाँचो काम गर्नु भएको ? 


–नुवाकोटको बेलकोटगडी नगरपालिका र धादिङको गल्छी गाउँपालिका जोड्ने पुलको निर्माण मैले गरिरहेको छु । यो निर्माणाधीन अवस्थामा छ । २०७५ चैतमा पुल निर्माणका लागि फर्मा राख्ने काम भइरहेका बेला एक्कासि हुरीबतास आयो र फर्मा हुरीले उडाएर लग्यो । तर, यसको समाचार निकै सतही ढंगले आयो ।  फर्मा उडाएको विषयलाई पनि निर्माण सम्पन्न भइसकेको पुल उडाए जसरी प्रचारमा ल्याइयो । कच्चा काम ग¥यो भनेर आलोचना गरियो । यो हावादारी कुरा हो । यसमा कुनै सत्यता छैन । निर्माण भइसकेको पुल नभएर त्यसको फर्मा मात्रै हुरीले उडाएको हो ।

 


० तपाईंले ०७४ मै निर्माण सक्ने गरी यो पुलको ठेक्का लिनु भएको रहेछ । त्यहीँको जनप्रतिनिधि भएर समयमा काम नसक्नु त गैरजिम्मेवारीपनको पराकाष्ठा भएन र ? 


–पुलको निर्माणको विषय अलि झन्झटिलो छ । डिजाइनदेखि अनेक झमेला यसमा हुन्छ । बजेट पनि निकै कम हुन्छ । २५–३० करोडको टेन्डर गराएर ५० लाख पुल बनाउन निकासा हुन्छ । ३० करोडको पुल बनाउन ५० लाख दिएर तपाईं समयमा नै बनाउन सक्नुहुन्छ ?  फेरि यसको निर्माण समय पनि ४–५ महिनाभन्दा बढी हुँदैन । 

 


० भनेपछि पुल निर्माणलगायतको प्रक्रिया नै त्रुटिसंगत छ ?


–हो, यसमा त्रुटि नै त्रुटि छ । हामीले बजेट माग्दै काम गर्नुपर्ने अवस्था छ । फेरि त्यसका लागि सिक्वेन्स मिलाउनु पर्छ । सिक्वेन्स मिलाउन नसके त्यही पनि पाइँदैन । हेर्नुस् पुल निर्माणमा रहेको अव्यवस्थाकै कारण कतिको बेहाल भएको छ । पुललगायतको निर्माण ठेकेदारले समयमा काम गरेनन् भनेर कोकोहोलो गर्नेले काम गर्दाका गाह्रासाह्रा के–के छन् त्यसबारे बुझिदिए कति राम्रो हुन्थ्यो । 

 


० अरुले सकेनन् भनेर तपाईंहरूजस्ता जिम्मेवार निर्माण व्यवसायी उनीहरूको पछि लागेर बेइमान बन्न मिल्छ ? 


–बेइमान बन्न मिल्दैन । हामीले जिम्मेवारपूर्वक काम गर्नुपर्छ । तर, निर्माण क्षेत्रमा यति कठिनाइ छन् कि काम गर्न पापड नै बेल्नुपर्छ । स्थानीयको आन्दोलनदेखि कर्मचारीसम्मको अवरोध थेगिनसक्नुसँग सामना गर्नुपर्छ । निर्माणमा अवरोध गर्ने तत्वको नाम लिने हो भने यहाँका सबै पर्छन् । मण्डी ओढेर घिउ खाने र हलो अड्काएर गोरु चुट्नेको यहाँ बाहुल्यता छ । 

 


० राष्ट्रिय गौरवका आयोजनामा पनि त्यस्तै हो ? 


–विभिन्न राष्ट्रिय गौरवका आयोजनाको कुरा गरौं । ती  वर्षौंदेखि सम्पन्न हुन सकेका छैनन् । विश्वमै अब्बल भनिएको जापानी निर्माण कम्पनीहरू नै यहाँ हत्तु भएका छन् । यसको एउटै कारण, यहाँको वातावरण नै निर्माणमैत्री छैन । त्यसैले संसारका जुनसुकै देशका निर्माण कम्पनी यहाँ आए पनि समयमा काम सक्ने अवस्था छैन । अत्याधुनिक प्रविधि नै ल्याए पनि निर्माणले गति लिन सक्नेवाला छैन । यसर्थ सबैभन्दा पहिले निर्माणको वातावरण सिर्जना गर्नेतर्फ हामी सबै लाग्नुपर्छ । सतही ढंगले आयोजना समयमा सकिएनन् भनेर भन्नु भन्दा पनि यसका कठिनाइहरूको समाधान गर्नेतिर सबैले सोचिदिए निकै राम्रो हुने थियो । 

 


० तपाईं जनप्रतिनिधि हुनुहुन्छ । तपाईंकै पार्टी नेपाली कांग्रेसले लामो समय सरकारको नेतृत्व ग¥यो । निर्माण क्षेत्रमा यतिधेरै समस्या रहेछन् । त्यसको समाधानको प्रयास किन नगरेको त ? 


–सबैभन्दा पहिले हाम्रो बजेट निर्माणको ट्रेन्ड नै गलत छ । पहिले त्यो सुधार्नु पर्छ । 

 


० कस्तो गलत ट्रेन्ड ? 


–हामीसँग बजेट सीमित छ । तर, योजनाहरू असीमित छन् । भकारीमा कति धान छ, त्यही अनुसार वितरण गर्ने योजना बनाउनु प¥यो नि । यहाँ त भकारीमा २० मुरी धान छ भने १ सय मुरी धान बाँड्ने बचन दिइन्छ । त्यसपछि अन्यत्र सापटी माग्नुपर्छ । उदाहरणका लागि पुल निर्माण योजनाकै कुरा गरौं । देशभर कैयौं पुल निर्माण योजना सरकारले एकसाथ अघि बढाउँछ । ती सबै पुल समयमा नै बनाउने हो भने देशको सिंगो बजेटले नै पुल निर्माण हुँदैन । जबसम्म हचुवाका भरमा कनिका छरेजस्तो योजनाहरू बनाएर बजेट बाँडिन्छ, तबसम्म निर्माण क्षेत्रमा समस्या यथावत रहन्छ । अहिले इतिहासकै बलियो सरकार देशमा छ । सरकारले इच्छाशक्ति देखाउने हो भने निर्माण क्षेत्रमा विद्यमान अव्यवस्था हट्छ । तर, यो सरकारले पनि यसमा ध्यान दिएको छैन । सरकारले हलो अड्काएर गोरु चुट्ने काम मात्र गरिरहेको छ । 

 


० सरकारले द्रुत गतिमा विकास गर्ने बताइरहेको छ । भनेपछि सरकारको समृद्धिको यात्रा त्यति सहज छैन ? 


–समृद्धिको मीठा नारा सरकारले दिइरहेको छ । तर, यो मुखले भनेजस्तो सजिलो छैन । निकै कठिन छ । सबैभन्दा पहिले हाम्रो प्राथमिकता के कुरामा हुनुपर्छ भनेर निक्र्योल गर्नुपर्छ । 

उदाहरणका लागि सरकारको रेल ल्याउने नारालाई नै हेरौं । रेल ल्याउनु राम्रो कुरा हो । तर, यो अहिलेको आवश्यकता हुँदै होइन । यसबाट लाभभन्दा हानी बढी हुन्छ । किनभने यो नेपालले थेग्न नै सक्दैन । करोडौं जनसंख्या भएको भारतमै रेल सेवा नोक्सानी व्यहोरिरहेको छ । जापानको क्वेटो सहरका मेयरसँग केही समय पहिले मेरो भेटघाट भएको थियो । ती मेयरका अनुसार, पर्यटकहरूको ठूलो चहलपहल र कारोबार हुँदासमेत त्यहाँको रेल सेवा घाटामा चलिरहेको छ । त्यसैले ३६ किलोमिटर क्षेत्रफलमा रेल कुदाउने हावादारी कुरा गरेर मात्रै हुँदैन, यसका विविध पाटापक्षबारे विश्लेषण गर्नुपर्छ । 

 


० रेल समयको माग होइन र ?


–पहिले मन्त्र र तन्त्रको जमाना थियो । अहिले यन्त्रको जमाना आएको छ । तैपनि हामीले यसको भरपूर प्रयोग गर्न सकेका छैनौं । वैज्ञानिक उत्पादनतर्फ सोच्ने फुर्सद पाएका छैनौं । उदेकको कुरा त के छ भने विज्ञान र प्रविधिबारे कुरा गर्ने मान्छे यहाँ कसैलाई मन पर्दैन । त्यस्तो मान्छे यहाँ उपेक्षामा पर्छ । त्यसैले हामी उँभो होइन, तलतिर लाग्दैछौं । जनगणनाकै सानो उदाहरण लिउँ । नेपालको यो सानो क्षेत्रफलमा कति जनसंख्या छ भनेर यकिन गर्न समेत हामी सक्दैनौं र लगभग भनेर सार्वजनिक गरिदिन्छौं । एक्काइसौं शताब्दीको युगमा लगभगको साहरा लिएर हिँड्नु लाजमर्दो कुरा हो । यसर्थ हामी जबसम्म दीर्घकालीन योजना बनाएर काम गर्दैनौं, तबसम्म यो देश अघि बढ्दैन । 

 


० तपाईं सम्बद्ध दल नेपाली कांग्रेस लामो समय सत्ताको नेतृत्वमा रह्यो । देश त यसले पुरै अस्तव्यस्त बनाएको रहेछ हगि ? 


–कांग्रेस केही गरौं भन्ने आकांक्षा बोकेको दल हो । तर, उसले कहिल्यै काम गर्न पाएन । सरकारको नेतृत्वमा रहेपनि उसले ०४८ सालपछि कहिल्यै बहुमत हासिल गर्न सकेन । त्यसैले कांग्रेसले चाहँदाचाहँदै पनि सुधारका कामहरू गर्न सकेन । साँच्चै देशमा केही गर्ने हो भने इतिहासकै बलियो नेकपा नेतृत्वको सरकार मसक्क कसिनुपर्छ । तर, विडम्बनाको कुरा सरकार प्राथमिकताको क्षेत्रमा केन्द्रित नभएर कसरी नियन्त्रण गर्ने भन्नेतिर सोचिरहेको छ । सरकार विदेशी लगानीकर्तालाई भड्काइरहेको छ । विदेशी लगानी भित्र्याउन सम्मेलन आयोजना गरे पनि त्यहाँ नौटंकी मात्रै भएको छ । अगाडि नै सम्झौता भइसकेका आयोजनामा फेरि सम्झौता गरिएको छ । सरकारले देश बनाउने हो भने आलोकाँचो काम गरेर हुँदैन, गम्भीरतापूर्वक प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्छ । सबैतिरको अव्यवस्थालाई व्यवस्थित पानुपर्छ । कुण्ठा अहिलेको सबैभन्दा महारोग हो । यसबाट मुक्त हुनुपर्छ । 

 


० फरक प्रसंगबारे कुरा गरौं । तपाईं एउटा निर्माण व्यवसायमा लागेको व्यक्ति, राजनीतिमा चाहिँ कसरी आइपुग्नु भयो ? 


–मेरो पारिवारिक पृष्ठभूमि नै राजनीतिसँग जोडिएको छ । मेरो हजुरबुवा, बुवा पञ्चायतकालमा सक्रिय राजनीति गर्नुहुन्थ्यो । पारिवारिक प्रभावले नै होला, म पनि विद्यार्थीकालदेखि नै राजनीतिमा जोडिन पुँगे । नेविसंघको विभिन्न भूमिकामा रहेर मैले काम गरेँ । पार्टीका विभिन्न कमिटीमा आवद्ध हुँदै संसद्मा मेरो प्रवेश भएको हो । 

 


० निर्माण क्षेत्रका व्यक्तिले राजनीति गर्नु उपयुक्त होइन भन्ने बहस पनि यदाकदा चल्ने गरेको छ । यसमा तपाईंको धारणा के छ ? 


–यो गलत कुरा हो । राजनीति गर्ने भनेकै व्यवसायीले हो । किनभने व्यवसाय गर्ने मान्छेले सबै किसिमका प्रतिकूलता झेलेको हुन्छ । संघर्ष गर्न सिकेको हुन्छ । देश बुझेको हुन्छ । त्यसैले राजनीतिमा पेशा तथा व्यवसायीहरू आउनु पर्छ । पेशा व्यवसाय नभएका व्यक्तिले राजनीति गर्नुहुन्न । अहिले देश भ्रष्टाचारबाट व्याप्त छ । यसको कारण नै अरु पेशा व्यवसाय नभएकाहरू राजनीतिमा आउनु हो । अब सांसद्हरूकै कुरा गर्नुस् । सांसद्हरू धेरैको गुजारा तलबले चल्दैन । कसरी गुजारा गर्ने भन्नेमा उनीहरू रुमल्लिएका हुन्छन् । तर हामी व्यवसायमा रहेकालाई त्यसमा अल्झिराख्नु पर्दैन । मेरै कुरा गर्नुहुन्छ भने पनि मैले आफ्नो तलब विभिन्न सामाजिक काममा खर्च गरिरहेको छु । 

 


० दलहरूलाई प्रभावमा पारेर ठेक्का हत्याउँदै त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीले भराउँछन् भनिन्छ । यसको जवाफ कसरी दिनुहुन्छ ? 


–अरुले के गर्छन्, मलाई थाहा छैन । तर मलाई कसैलाई प्रभावमा पारिराख्न जरुरी छैन । म राजनीतिको तल्लो कमिटीबाट संघर्ष गरेर राजनीतिमा आएकाले म आफ्नै बलबुतामा राजनीतिमा आएको हुँ । 

 


० राजनीति कहिलेसम्म गर्ने त ? 


–नेपालको राजनीतिमा एउटा समस्या छ, ओगटेर बसिराख्ने । अर्को पुस्तालाई प्रवेश नै नदिने । म यसको सख्त विरोधी हुँ । ६५ वर्षपछि जोकोही राजनीतिज्ञले अवकाश लिनुपर्छ भन्ने मान्यता म राख्छु । त्यसैले म यो अवधिसम्म देश र जनताका लागि आफूले भ्याएसम्म सेवा गर्छु ।
 

प्रतिकृया दिनुहोस