काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो राजनीतिक परिस्थितिप्रति धारणा सार्वजनिक गर्दै मुलुक नयाँ दिशातर्फ दौडिरहेको बताएका छन् । उनले भाद्र २३ र २४ गतेको घटनाबाट जन्मिएको ‘जेन-जी आन्दोलन’लाई एक प्रकारको चेतना र उर्जा स्वरुप लिँदै त्यसबाट बनेको नयाँ सरकारले आम नागरिकको विश्वास जित्नुपर्ने बताएका छन् ।
उनका अनुसार आन्दोलनमा देखिएको युवा उर्जा र समाजपरिवर्तनको चाहनालाई सही दिशामा अघि बढाउनु आवश्यक छ । तर आन्दोलनकै नाममा भएको लुटपाट, आगजनी र नेतामाथि भएको हातपातलाई भने उनले सभ्य समाजमा अस्वीकार्य ठहराएका छन् ।
देउवामाथिको आक्रमणलाई “जघन्य अपराध”
भाद्र २४ गतेको आन्दोलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको हातपात र लुटपाटप्रति डा. कोइरालाले कडा आपत्ति जनाएका छन् ।
“लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएका देउवामाथि घरमै गएर भएको आक्रमणलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरे पनि कम हुन्छ,” कोइरालाले बताएका छन् ।
कांग्रेसको गल्ती र भविष्य
शेखरले अतीतमा कांग्रेसले गरेका गल्तीबारे समय खर्च नगर्ने बताए पनि, जेन-जी आन्दोलनबाट प्राप्त सन्देशलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, “समयको पदचाप अनुरुप हामी हिड्न नजान्दा समाज र युवाको भावनाबाट कांग्रेस टाढा रह्यो । तर अब कांग्रेसले नयाँ सोच, नयाँ रणनीति र नयाँपनसहित अघि बढ्नुपर्छ।”
उनले पार्टीका अग्रजहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूको योगदान सम्झँदै उनीहरूले देखाएको पदचिन्हबाट नयाँ कांग्रेस निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
“लोकतान्त्रिक समाजवाद नै कांग्रेसको बाटो”
डा. कोइरालाले लोकतान्त्रिक समाजवादलाई देशभर फैलाउन कांग्रेस नेता–कार्यकर्ताले बितेका दशकौंमा दिएका त्याग र बलिदानलाई स्मरण गर्दै भने,
“हाम्रो आँसु बगाएर वा पश्चाताप गरेर खेर फाल्ने समय छैन । प्रायश्चित गर्न हामी पछि पर्दैनौं । तर अब हाम्रो ध्येय युवाको भविष्य र समृद्ध राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्छ।”
दशैंपछि देशव्यापी बहसमा आउने घोषणा
नेता कोइरालाले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै दशैंलगत्तै देशव्यापी बहस र छलफलमा सहभागी हुने घोषणा गरेका छन् ।
उनका शब्दमा, “सत्ताको केन्द्रमा को छ भन्ने होइन, अब हामी जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्छ । कांग्रेसलाई दाजुभाइको होइन, कांग्रेसजनको पार्टी बनाऔं ।”
कोइराला निवास जल्यो, तर विचार मर्दैन
भाद्र २४ गते विराटनगरस्थित ऐतिहासिक “कोइराला निवास” जलाइएको घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै उनले भने,
“कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्दैन । कोइराला निवासको खरानी विजबाटै नूतन कांग्रेसको नवनिर्माणमा जुट्नेछौं।”
निष्कर्ष
डा. शेखर कोइरालाको धारणा अनुसार, जेन-जी आन्दोलनले देखाएको ऊर्जा र चेतना कांग्रेसका लागि चुनौती मात्र होइन, अवसर पनि हो । अब पार्टीले युवाको चाहनालाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादको बाटोमा जनतासँगै उभिन सके मात्रै नयाँ कांग्रेस निर्माण सम्भव हुने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस