• शनिबार-भदौ-२८-२०८२

ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी


काठमाडौं । जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कर्फ्यु ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ । 


जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु आइतबारसम्म जारी रहने जानकारी दिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ । 


यस्तै सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कर्फ्यु लाग्ने पनि जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ६ः०० बजे देखि ११ः०० बजे र बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म आवतजावत गर्न अनुमति दिइएको छ ।


एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्र सहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्न सकिने छ । सरकारी कार्यालय, बैङ्क र वित्तीय संस्थाका कर्मचारीहरू परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् ।

 

प्रतिकृया दिनुहोस