लण्डन, १७ भदौ (रासस/सिन्ह्वा) : बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ को गर्मीयाम अहिलेसम्मकै सबैभन्दा उच्च तापमान भएको मौसमीय अवधिका रूपमा पुष्टि गरिएको छ ।
जुन १ देखि अगस्ट ३१ सम्मको अवधिमा बेलायतको औसत तापक्रम १६.१० डिग्री सेल्सियस मापन गरिएको छ, जुन दीर्घकालीन औसतभन्दा १.५१ डिग्रीले बढी हो । यसले सन् २०१८ को १५.७६ डिग्रीको अघिल्लो कीर्तिमानलाई पार गरेको छ ।
मेट अफिसकी मौसमविद् एमिली कार्लिसलका अनुसार यो निरन्तर तापक्रम वृद्धिमा विभिन्न कारणहरूको भूमिका रहेको छ । यी सबैले वातावरणमा ताप जम्मा हुने र लामो समयसम्म टिकिरहने अवस्था बनाएका छन् ।
सन् २००० यता बेलायतमा सबैभन्दा उच्च तापक्रम भएका पाँचवटा गर्मीयामहरू मापन गरिएका छन्, जुन जलवायु परिवर्तनको गम्भीर सङ्केत हो ।
मौसम विज्ञहरूका अनुसार, यदि मानवनिर्मित हरितगृह ग्यासको प्रभाव नभएको भए, सन् २०२५ जस्तो मौसम करिब ३४० वर्षमा एकपटक मात्र देखिन सक्थ्यो । तर हालको अवस्थामाअनुसार यस्ता अवस्था करिब पाँच वर्षमै एकपटक देखिन सक्छ, जसको सम्भावना प्राकृतिक अवस्थाको तुलनामा करिब ७० गुणा बढी छ ।
प्रतिकृया दिनुहोस