वीरगञ्ज, भदौ १४ गते। पूर्व राष्ट्रपति एवं पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) कार्यकर्ताले वीरगञ्जमा लगाइदिए।को ५० किलोको माला याे सामान्य स्वागत मात्र होइन, आगामी दिनको राजनीतिक संकेतको रूपमा पनि व्याख्या गर्न थालिएको छ ।
एमालेले आयोजना गरेको कार्यक्रममा भण्डारीप्रति देखिएको आकर्षण, त्यसरी गरिएको भव्य सम्मान र भीडको उत्साहले नेतृत्व तहसम्म सन्देश पुगेको छ-एमालेको कार्यकर्तामाझ अब ‘विद्यादेवी भण्डारी’ एक वैकल्पिक ध्रुवको रूपमा उदाउँदैछिन् ।
माला भन्दा ठूलो सन्देश
भण्डारी राष्ट्रपति हुँदा पनि यस्तो अवसर पाइनन् । कतिपय राजनीतिक विश्लेषक भन्छन्—राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेकी भण्डारीलाई ५० किलोको माला लगाउने ‘अवसर’ त्यतिबेला कहिल्यै आएन। तर, पदमुक्त भएपछि वीरगञ्जमा देखिएको यो भव्य सम्मानले एमाले कार्यकर्ताकाे मात्र हाेइन आम जनताकाे मनोविज्ञान परिवर्तन भएको स्पष्ट देखिन्छ। यसलाई केवल भावनात्मक स्वागत भनेर खारेज गर्न सकिँदैन।
ओलीपछिको उत्तराधिकारीको संकेत ?
एमालेको विधान महाधिवेशन २०८२ भदौ २० गतेदेखि सुरू हुँदैछ। महाधिवेशन अघि भण्डारीतर्फ बढेको आकर्षणलाई ‘ओलीपछिको नेतृत्व’ को सन्दर्भमा पनि एमाले कार्यकर्ता र नेताले जोडेर हेर्न थालेका छन् । ओली समूहमै लामो समयदेखि देखिएको प्रश्न-‘ओलीको उत्तराधिकारी को ?’-मा अब भण्डारीको नाम जोडिन थालेको छ।
भण्डारीलाई वीरगञ्जमा गरिएको सम्मानलाई कतिपयले ओली पक्षकाे साताे लिने सन्देश भनेर पनि व्याख्या गरेका छन् । एमालेकाे भलाे चाहने हाे भने अध्यक्ष केपी ओलीले आफू सुरक्षित रहँदै सत्ता हस्तान्तरणको तयारी गर्दा दीर्घकालका लागि समेत भण्डारी उपयुक्त उत्तराधिकारी ठहरिन सक्ने संकेत देखिन्छ।
महिला नेतृत्त्वको प्रतीक, दुई पटकको राष्ट्रपति, एमालेमै राजनीतिमा उदाएकी पुरानी कार्यकर्ता, निष्कलंकित छवि-यी सबै कारणले भण्डारीलाई ‘ओलीपछिको सुरक्षित विकल्प’ का रूपमा प्रस्तुत गर्न सकिन्छ।
कार्यकर्ताको बढ्दो आकर्षण
विराटनगर र वीरगञ्जमा देखिएको कार्यकर्ताको भीड र उत्साहले भण्डारीप्रतिको आकर्षण पार्टीभित्रै नयाँ तरंग ल्याएको छ। एमालेभित्रै केही असन्तुष्ट समूहहरू, विशेषतः मध्यम तहका नेताहरू, भण्डारीलाई ‘नयाँ आशा’का रूपमा हेर्न थालेको बताइन्छ। कार्यकर्ताले भण्डारीलाई “देशको गौरव, महिला नेतृत्त्वको शिखर” भन्दै सम्मान गर्दा एमालेभित्रको शक्ति समीकरण पनि क्रमशः उनको पक्षमा ढल्दै गएको देखिन्छ।
निष्कर्ष
भण्डारी राष्ट्रपति हुँदा भन्दा पदमुक्त भएपछि देखिएको यो लोकप्रियता(क्रेज) एमालेको आन्तरिक राजनीति र भावी नेतृत्व प्रतिस्पर्धाको केन्द्रबिन्दु बन्ने देखिन्छ। वीरगञ्जको ५० किलोको माला केवल सम्मान मात्र नभई एमालेको आगामी विधान महाधिवेशन र ओलीपछिको नेतृत्व प्रश्नमा ‘भण्डारीको उदय’ को संकेत हो।
प्रतिकृया दिनुहोस