• सोमबार-श्रावण-२६-२०८२

नेपाली सेनाका दीपेन्द्र ढकाल अस्ट्रेलियामा हुने विश्वस्तरीय तेक्वान्दो प्रतियोगितामा निर्णायक

 

काठमाडौँ, २५ साउन : नेपाली सेनाका अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले अस्ट्रेलियामा आयोजना हुने विश्व वरीयताको तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ ।

 

उहाँले यही अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रङ्गशालामा आयोजना हुने डब्लुटी प्रेसिटेन्ड कप ओसियना, डब्लूटी प्रेसिटेन्ड कप र विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन अन्तरराष्ट्रिय प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्ने तयारी गर्नुभएको छ ।

 

सन् २०२५ विश्व तेक्वान्दो प्रेसिडेन्ट कप (ओशियानिया) र अष्ट्रेलियाली ओपन जस्ता प्रतिष्ठित प्रतियोगिता यही अगस्ट १४ देखि १७ तारिखसम्म गोल्ड कोस्ट स्पोट्र्स एण्ड लेजर सेन्टरमा हुनेछन् । जसले विश्वभरका उत्कृष्ट ब्ल्याक बेल्ट खेलाडीलाई आकर्षित गर्नेछ ।

 

विश्व वरीयता प्राप्त सो प्रतियोगितामा स्पेयरिङ, पारा–क्योरुगी, पुम्से प्याटर्न, र पारा–पुम्से समावेश हुनेछन् । विश्व–स्तरीय गोल्ड कोस्ट खेलकुद र मनोरञ्जन केन्द्रले ७० भन्दा बढी देशका प्रतिस्पर्धीका साथै खेल अधिकारी सहभागी हुनेछन् ।

 

यो प्रतियोगिता तेक्वान्दो खेलकुदको अन्तरराष्ट्रियस्तरमा नेपाली प्रतिनिधित्व र प्रतिष्ठालाई बलियो बनाउने महत्त्वपूर्ण अवसर भएको जनाइएको छ ।

 

त्रिभुवन आर्मी क्लबमा आबद्ध ढकालले  विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थाल्नुभएका  ढकाल तेक्वान्दोका पाँचौ डान हुनुहुन्छ । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तरराष्ट्रिय निर्णायक बन्ने उहाँ पहिलो हुनुहुन्छ । उहाँ त्रिभुवन आर्मी क्लबमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ । चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगितामा समेत रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । 

 

ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकसमेत घोषित हुनुभएको थियो । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए । 

 

यसअघि नेपालमा सम्पन्न साउथ एसियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत क्यानडा, चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी उज्बेक्स्थान भएका अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसक्नुभएको छ ।

 

रेफ्री ढकाल राष्ट्रिय प्रतिभा पुरस्कार २०८०बाट समेत सम्मानित हुनुभएको थियो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खेलकुद प्रतिभा एवम् खेलकुद पत्रकारिता पुरस्कारसमेत प्राप्त गर्नुभएका ढकालले विभिन्न अन्य पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।
---

 

प्रतिकृया दिनुहोस