• सोमबार-श्रावण-२६-२०८२

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

 

न्युयोर्क, २४ साउन (रासस/एएफपी) : अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भिड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ ।

 

विभागका प्रवक्ताले एएफपीसँग भने, “स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ भने १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरिरको तल्लो भागमा चोट लागेको छ ।

 

चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ । घाइते तीनै जनालाई न्यूयोर्क शहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । “आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,” नयुयोर्क प्रहरी विभागका प्रवक्ताले बताए । 

 

संदिग्ध किशोरमाथि अनुसन्धान जारी रहेकोले औपचारिक रूपमा अभियोग लगाइएको छैन । दैनिक दशौं हजार पर्यटक आउने शहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औं स्ट्रिट र सेभेन्थ एभिन्यूमा गोली चलेको हो ।

 

न्युयोर्क टाइम्सले सन् २०२५ को पहिलो सात महिनामा शहरमा गोली काण्ड र गोली प्रहारका घटनामा अहिलेसम्मकै न्यून रहेको यसै महिनाको सुरुमा अधिकारीलाई उद्धृत गरी बताएको थियो । गत जुलाई ३० मा म्यानहट्टनमा सेमी अटोमेटिक राइफलले सुसज्जित एक व्यक्तिले चार जनाको गोली हानी हत्या गरेका थिए ।

 

‘गन भायलेन्स आर्काइभ’का अनुसार यस वर्ष संयुक्त राज्य अमेरिकामा २५४ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।
---

 

प्रतिकृया दिनुहोस