• बिहीबार-श्रावण-२२-२०८२

बाढीले क्षति पुर्‍याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा

 

रामेछाप । गएको शुक्रबार रातिको बाढीले क्षति पु¥याएको रामेछापको भटौली खोलाको पुल मर्मतपछि मन्थली–खाँडादेवी सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।

 

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को पकरबास जोड्ने यो पक्की पुल रामेछापको वैकल्पिक यातायात सञ्जालमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

 

बाढीले पुलको खाँडादेवीपट्टिको पिलर कटान गरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । चार दिनको मर्मतपछि मंगलबार अपराह्नबाट ठूला सवारीसाधनसहित यातायात पुनः सञ्चालनमा आएका हुन् । 

 

खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार सो पुलबाट अब सबै खालका यातायात सञ्चालनमा आएका छन् । ‘ठुलो पानी परेमा फेरि पनि समस्या आउन सक्छ, अहिलेलाई भने यातायात सञ्चालन हुन लागेका छन्’ उनले भने ।

 

पुल अवरुद्ध भएपछि खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति गाउँपालिका तथा काठमाडौं जोड्ने वैकल्पिक मार्गसमेत प्रभावित बनेको थियो । चार दिनसम्म ठूला मालवाहक गाडीहरू खाँडादेवी गाउँपालिका–४ कै विभिन्न स्थानमा रोकिएका थिए ।

 

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले पुलको पिलर नजिक खोलाले खोलेको ठाउँ मर्मत गरेपछि सडक सञ्चालनमा आएको जानकारी दिए । ‘रोकथामका उपायहरू अपनाइएकाले तत्काल समस्या नआउला,’ श्रेष्ठले भने ।

 

४० मिटर लम्बाइको यो पुल स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम (LRBP) अन्तर्गत आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको हो । स्वच्छन्द सिर्जना जेभीले करिब ४ करोड रुपैयाँ लागतमा पुल निर्माण गरेको थियो ।

 

पुल सञ्चालनमा आएपछि पुनः सवारी आवागमन सहज भएको छ । मन्थली र काठमाडौं जाने वैकल्पिक मार्ग यही पुल हो । गत असोजमा खुर्कोटको पुल बगाएपछि त्यहाँ जडान गरिएको बेली ब्रिज १५ टनभन्दा माथिका सवारी चलाउन नसकिने भएपछि  ठुला सवारीसाधन यही सडकबाट सञ्चालन हुने गर्दछन् । सुनकोसी–मरिण डाइभर्सनका निर्माण सामाग्री बोकेका ठुला गाडीहरू सडकमा क्षति हुँदा चार दिनसम्म रोकिएका थिए । 

 

स्थानीय प्रशासन, नेपाली सेना, प्रहरी, स्थानीय तह, पूर्वाधार विकास कार्यालय, मरिण डाइभर्सन लगायतको सहकार्यमा पुल क्षेत्रको संरक्षण  गरिएको हो ।
 

 

प्रतिकृया दिनुहोस