काठमाडौं, साउन १६ । सांसद तथा माओवादी छिरिङले पूर्व नवयुवराजकुमार हृदयन्द्र शाह र सांसद ज्ञानेन्द्र शाहीमाथि कडा टिप्पणी गरेकी छिन्। उनले हृदयन्द्रको ताजा जुम्ला यात्रा र त्यसको प्रचार शैलीप्रति व्यंग्य गर्दै भनेकी छन्–"अब त भोटेको छाउरो ल्याएर राजा बनाउने हो ? के यो देश काठमाडौं कै हो त ?"
उनको भनाइ अनुसार, हृदयन्द्र शाहलाई ‘राजा’ बनाउने खालको माहोल तयार पार्ने प्रयास गणतन्त्रप्रति ठाडो अपमान हो। उनले थप भनिन्–"हामीले गणतन्त्र ल्याउँदा यस्ता मूर्खतापूर्ण कुरा सुन्नकै लागि ल्याएका हो र ?"
त्यस्तै, राप्रपाका जुम्लाका सांसद ज्ञानेन्द्र शाहीमाथि पनि छिरिङले सीधा आरोप लगाउँदै भनिन्, "उहाँलाई संसद छिराउन, भूमिका बनाउन अनि मिडियामा हिरो बनाउन करोडौं खर्च गरिएको छ। अहिले संसदभित्रै अराजकता मचाउन भित्र्याइएको हो ।"
‘जुम्ला हिजोको जस्तो छैन’–छिरिङको धारिलो टिप्पणी
छिरिङको भनाइ अनुसार, जुम्ला अहिलेको गणतन्त्रको उपलब्धि हो, राजतन्त्रको होइन। उनले भनिन् – "राजतन्त्रले २३८ वर्षसम्म जुम्लामा सिटामोलसमेत पुर्याउन सकेन, तर गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा जस्ता आधारभूत सुविधाहरू पुर्यायो ।"
उनले इतिहास कोट्याउँदै राजतन्त्रका १२ राजा र जुम्लामा भएको १८४६ सालको क्रूर आक्रमणको पनि स्मरण गरिन्। "जुम्ला माथिको हिंसा, उपेक्षा र विभेदका मुख्य जिम्मेवार हृदयन्द्रका बाउबाजे हुन्," उनले स्पष्ट पारिन् ।
छिरिङले हिमानी शाह र हृदयन्द्र शाहको हालैको जुम्ला भ्रमणप्रति प्रश्न उठाउँदै भनिन् – "यो युट्युबबाट टिपेर ल्याइएको नयाँ अवतार हो, जुन भरियाको काँध टेकेर फेरि एक पटक जुम्लाको भूमिमा षड्यन्त्र बुन्न आएको छ ।"
‘सामन्ती प्रवृत्तिको विरुद्ध लड्न अझै बाँकी छ’
नेतृ छिरिङले हृदयन्द्रको जुम्ला भ्रमणको भिडियो प्रचारबाजीलाई ‘स्टन्ट’ भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको आरोप पनि लगाइन् ।
"ब्लगर सिर्जना सिज्जुले बनाएको जुम्लाको ब्लग हृदयन्द्रको भन्दा हजारौं गुणा उत्कृष्ट छ, तर त्यसलाई कसैले नहेर्ने ? किनभने उनी राजा परिवारको सदस्य होइनन् !"
उनले सामन्ती सोचको प्रभाव अझै समाजमा बाँकी रहेको उल्लेख गर्दै भनिन् – "युट्युबको नेतृत्व राजावादीले गरिरहेको छ, सामन्ती राजाले हिजो जनतालाई दास बनाई जम्मा पारेको सम्पत्ति अहिले युट्युबर र सामाजिक अभियन्तामा लगानी भइरहेको सुन्न पाइन्छ।"
छिरिङको भनाइमा सिंहदरबार अब वंशको नामले होइन, जनताको विश्वासले पुगिने स्थान हो ।
"हृदयन्द्र शाह राजपरिवारका सदस्य हुन् भनेर उनले टेकेको भूमि पवित्र हुने भन्ने चेतनाबाट अब हामी माथि उठ्नुपर्छ। जुठाे खाए विष्णुको प्रसाद हो भन्ने मान्यताले हाम्रो चेतना कहाँ पुर्याउँछ?" – उनको प्रश्न थियो।
समाप्तिमा
छिरिङको यस्ता प्रखर अभिव्यक्तिले राजनीतिक वृत्तमा हलचल ल्याएको छ। केहीले यसलाई ‘गणतन्त्रको बचाउ गर्ने आवाज’ भनेका छन् भने केहीले ‘अत्यधिक कटाक्ष’ मानेका छन्। तर छिरिङ स्पष्ट छिन् –"हामीले विगतका सामन्ती सोच विरुद्ध लडेर ल्याएको गणतन्त्र हो। यसलाई पुनः राजतन्त्रको छायाँले ढाक्न दिने छैनौं।"
प्रतिकृया दिनुहोस