• शनिबार-श्रावण-१७-२०८२

बुवाको काजकिरिया गर्दै छोरीहरूले दिए दागबत्ती, परम्परागत सोचमा बदलाब


बन्दीपुर (तनहुँ), साउन १६ –  "काजकिरिया छोराले मात्र गर्ने" भन्ने पुरानो सामाजिक मान्यतालाई चुनौती दिँदै बन्दीपुर–५ का भिमबहादुर क्षेत्रीको निधनपछि उनका छोरीहरू निशा र अनिशाले बुवाको दाहसंस्कार सम्पन्न गरेका छन्।

 

ब्लड क्यान्सर रोगसँग १८ वर्षसम्म संघर्ष गरेपछि ६५ वर्षीय क्षेत्रीको हालै निधन भएको थियो। पारिवारिक प्रेम, जिम्मेवारी र भावनाले ओतप्रोत यो क्षणमा दिदीबहिनीले बुवालाई काँधमा बोकेर घाटसम्म लगे, दागबत्ती दिए र आमासँगै बसेर काजकिरियाको सम्पूर्ण प्रक्रिया पूरा गरे।

 

समाजमा व्याप्त "छोरीले घाट जानु हुँदैन" वा "काजकिरिया गर्न योग्य छैनन्" भन्ने सोचलाई तोड्दै उनीहरूले उदाहरणीय कार्य गरेका छन्। यस घटनाले समाजमा लैंगिक समानता र चेतनाको नयाँ बहस सुरु गरिदिएको छ।

 

निशाले भनिन्, "हामीले हाम्रो बुवाको अन्तिम धर्म गर्न पाउनु गर्वको कुरा हो। उहाँले छोरी छोरामा कुनै भेदभाव गर्नुभएन, हामीले पनि उहाँको संस्कार पूरा गर्न नपाउँ भन्ने कुरै थिएन।"

 

स्थानीयहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले छोरीहरूको यो कार्यको प्रशंसा गरेका छन्। यसले परम्परा र प्रगतिशील सोचबीच सन्तुलन खोज्ने नयाँ पुस्तालाई प्रेरणा दिएको छ।
 

प्रतिकृया दिनुहोस