• आइतबार-श्रावण-११-२०८२

सुनकोसीले बगाएको मोटरेबल पुलको सट्टा ‘घिर्लिङ’: राहतको श्वास फेरिँदै 

२०७९/८० मा सुनकोसी नदीमा बनेको उदयपुर–खोटाङ जोड्ने फोक्सिङटार मोटरेबल पुल बाढीले बगाएको झण्डै एक वर्षपछि स्थानीयले वैकल्पिक आवागमनको माध्यम पाएका छन्। पुल बगाएपछि बिच्किएका खोटाङको दक्षिणी भेगका सर्वसाधारण र व्यापारीले २०८२ साल साउन ८ गतेदेखि सञ्चालनमा आएको घिर्लिङमार्फत अब राहत महसुस गर्न थालेका छन्।

उक्त घिर्लिङ झण्डै रु. १८ लाखको लागतमा निर्माण गरिएको हो। यो लगानीको ९० प्रतिशत हिस्सा फयल ट्रेड एण्ड सप्लायर्स र शान्तिभूमि कन्ट्रक्सनका प्रोप्राइटर नारायण फयलको रहेको छ। बाँकी १० प्रतिशत लागत भने स्थानीय व्यापारीहरूको संयुक्त योगदानबाट जुटाइएको हो।

फोक्सिङटारको पुरानो मोटरेबल पुल बगाएपछि खोटाङ र उदयपुरका सीमावर्ती क्षेत्रका बासिन्दा, विशेषगरी व्यापारी, दैनिक अत्यावश्यक उपभोग्य वस्तु पुर्‍याउन र ढुवानी गर्न मारमा परेका थिए। वैकल्पिक पुल निर्माण नहुँदा खाद्यान्न, तरकारी, इन्धन लगायतका सामानको मूल्य आकासिएको थियो।

अब सञ्चालनमा आएको यो घिर्लिङबाट बर्षातको समयमा दैनिक उपभोग्य वस्तुहरू प्रति केजीमा रु. २ सस्तो पर्ने स्थानीय व्यवसायीहरूको अनुमान छ। भाडा घट्ने मात्र नभई, आवागमन सहज भएपछि सिधै ग्रामीण बजारसम्म सामान ढुवानी गर्न सकिनेछ।

स्थानीय लगानीमा पूर्वाधार : उदाहरणीय प्रयास


नारायण फयलको अगुवाइमा बनेको यो घिर्लिङ सरकारी पहल नपुगेको ठाउँमा निजी क्षेत्रबाट पहल गरेर गरिएको सहकार्यको राम्रो उदाहरण बनेको छ। “नाफा हैन, स्थानीय आवश्यकता पूर्ति नै पहिलो लक्ष्य हो,” नारायण फयलले बताए।

खोटेहाङ गाउँपालिका क्षेत्रभित्र व्यापारिक पूर्वाधार अभावमा अधिकांश बजारहरू आवागमन समस्याले पिल्सिएका छन्। घिर्लिङ जडान भएपछि अब राजमार्गमा निर्भरता कम भई आन्तरिक आवागमन र आपूर्ति सञ्जाल सहज हुने अपेक्षा गरिएको छ।

अझै स्थायी समाधानको पर्खाइ


यद्यपि, घिर्लिङ केवल अस्थायी समाधान हो। स्थानीय सरकार र सम्बन्धित मन्त्रालयहरूले बगाएको मोटरेबल पुल पुनःनिर्माणका लागि योजना सार्वजनिक गरे तापनि, अहिलेसम्म ठोस कार्य प्रारम्भ भएको छैन। फोक्सिङटार मोटरेबल पुलको विकल्पका रूपमा बनेको यो घिर्लिङ वर्षायाममा मात्रै होइन, नियमित आपूर्तिको सञ्जालका रूपमा पनि अब महत्वपूर्ण बन्ने देखिन्छ।

स्थानीय व्यापारी, जनप्रतिनिधि र सर्वसाधारणले अब भने सरकारले दीर्घकालीन योजना ल्याएर पुनः पुल निर्माणको कार्य तीव्र गर्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस