काठमाडौँ, ९ साउन : भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।
दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ ।
त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।
---
प्रतिकृया दिनुहोस