• शुक्रबार-श्रावण-२-२०८२

किर्ते गरेको अभियोगमा खतरनाक 'किर्ते सम्राट' सफराज खड्का पक्राउ


काठमाडौं, विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई २०८२ असार ३१ गते मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने  सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंज चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठाबाट विभिन्न कार्यालयका होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाका रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाका बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सिपियु १ थान, स्क्यानर १ थान लगायतका किर्ते कार्यमा प्रयाेग हुने  सामान समेत बरामद गरेको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा सफराजले विगत २ वर्ष देखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय तथा राजनैतिक पार्टीहरूको नक्कली छाप, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लेटर प्याड, बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको खुल्न आएको छ । 

सफराज खड्का उपर लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।

प्रतिकृया दिनुहोस