इस्लामावाद, ३० असार । पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ ।
यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह लगेको छ ।
एआरवाई रिपोर्टका अनुसार यस यात्रुको नाम शाहजैन हो, जसले लाहोर एयरपोर्टबाट कराँचीको टिकट लिएका थिए तर उनलाई गलत विमानमा राखियो र शाहजैन भिसा र पासपोर्ट बिना सिधै विदेश पुगे ।
यो कुरा शाहजैनलाई उडानको बीचमा थाहा भयो । जब धेरै घण्टा बितिसक्दा पनि कराँची आइपुगेन, उनले क्याबिन क्रु सदस्यलाई प्रश्न सोधे, जसपछि पूरै उडानमा हंगामा मच्चियो ।
शाहजैनले स्थानीय मिडियालाई भने, ‘लाहोर एयरपोर्टको आन्तरिक टर्मिनलको ढोकामा दुईवटा विमान पार्किङ गरिएको थियो । मैले एयरलाइन्स स्टाफलाई मेरो टिकट पनि देखाएँ । म गलत उडानमा चढेको छु भन्ने मलाई पटक्कै थाहा थिएन । उडानमा प्रवेश गरे पछि मात्रै मैले एयर होस्टेसलाई मेरो टिकट पनि देखाएँ ।’
शाहजैनका अनुसार उडानको २ घण्टा बितिसक्दा पनि विमान कराँचीमा नपुगेपछि उनले केबिन क्रुलाई सोधे कि विमान कराचीमा किन अवतरण भएको छैन ? यसपछि विमानमा त्रास फैलियो । चालक दलका सदस्यहरूले यो गल्तीको लागि शाहजैनलाई दोष दिन थाले ।
तर, शाहजैनले आफूसँग साउदी अरबको पासपोर्ट र भिसा नभएको बताएका छन् । जेद्दा पुगेपछि जब शाहजैनले कराँची फिर्ता लैजान अनुरोध गरे, उनलाई कराँची पुग्न २–३ दिन लाग्ने भनिएको थियो। शाहजैनले पाकिस्तान एयरलाइन्सविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् ।
पाकिस्तान एयरपोर्ट्स अथोरिटी (पीएए) ले लाहोर एयरपोर्टका अधिकारीहरूसँग यस विषयमा सोधपुछ गरेको थियो । पिपीएले यसलाई एयरलाइनको लापरवाहीको रूपमा वर्णन गरेको छ । लाहोर एयरपोर्ट प्रशासनले पनि छानबिन गर्न आदेश दिएको छ । जिम्मेवार कर्मचारीलाई कारबाही गरिने उसले जनाएको छ ।
प्रतिकृया दिनुहोस