बारा, असार २४ । बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको एउटा कन्टेनर ट्रकबाट करिब १ करोड २५ लाख रुपैयाँ बराबरको अवैध भन्सार छली सामान बरामद गरिएको छ। प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ।
असार २१ गते शनिबार बिहान करिब ०१:३० बजे, ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट प्र.ब.ना.नि. धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई चेकप्वाइन्टमा रोकेर जाँच गर्दा उक्त परिमाणको सामान फेला परेको हो।
बरामद सामान विवरण
जाँचका क्रममा बिल बिजकभन्दा फरक, कुनै भन्सार प्रक्रिया नपु¥याई तस्करी गरिएको कस्मेटिक, कोकोनट, आल्मन्ड (बदाम), कपडा, सर्जिकल सामग्री, इलेक्ट्रोनिक उपकरण, मोबाइलका पार्टपुर्जा र औषधिजन्य सामग्री समेत भेटिएको प्रहरीले जनाएको छ।
अवैध रूपमा भित्र्याइएका ती सामानहरूको अन्दाजी मूल्य रु. १,२५,२४,०१० रहेको छ।
राजश्व अनुसन्धानलाई जिम्मा
ट्रकमा लोड गरिएका सबै सामानसहित ट्रकलाई नियन्त्रणमा लिएर राजश्वसम्बन्धी आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जनाइएको छ।
प्रहरीका अनुसार यस घटनाले संगठित रुपमा भइरहेको करछली कारोबार र सीमावर्ती क्षेत्रहरूबाट भइरहेको सामान तस्करीतर्फ गम्भीर ध्यान दिनुपर्ने अवस्था औंल्याएको छ।
प्रतिकृया दिनुहोस