• मंगलबार-असार-२४-२०८२

तामाङ भाषाको प्रेमकथा, ‘ह्राङ्बा माया’ प्रदर्शनमा(भिडियाे सहित)

काठमाडौं । तामाङ समुदायको मौलिकता, संस्कृति र युवाको भावनात्मक सम्बन्ध उजागर गर्ने उद्देश्यले निर्माण गरिएको तामाङ भाषिक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ आउँदो असार २८ गते, शनिबार काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ।

 

प्रेमकथामा आधारित यो चलचित्र तामाङ समुदायको संस्कृति, परम्परा र सामाजिक सम्बन्धहरूलाई कथानकको मूल प्रवाहमा राख्दै अगाडि बढ्छ। चलचित्रले समुदायको मौलिक पहिचानलाई दृश्य र भावनामा बाँधेर प्रस्तुत गर्ने प्रयास गरेको छ। यसलाई तामाङ चलचित्र उद्योगको प्रगतिशील प्रतीकको रूपमा समेत हेरिएको छ।

 

चलचित्रका नायक तथा निर्देशक हुन् – हुत्त सञ्जय लामा, जसले यसअघि पनि क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया, बिच्छी, कसम तिमीलाई, जम्काभेट, दुवाली, सानु लगायतका तामाङ भाषिक चलचित्रमा अभिनय तथा निर्देशन गरिसकेका छन्।

‘ए ङाला ह्राङ्बा माया’ को निर्माणमा लोसाङ लामा र इकेश लामा सहभागी छन् भने सहनिर्देशनमा विश्वजंग माझी रहेका छन्। राजु दोङ तामाङको द्वन्द्व निर्देशन र प्रज्वल राउतको छायांकनले चलचित्रलाई प्राविधिक रूपमा बलियो बनाएको टिमको दाबी छ।

 

चलचित्रको शीर्ष गीतमा बिछोड र बियोगको गहिरो भावना अभिव्यक्त गरिएको छ। उक्त दृश्यमा निर्देशक समेत रहेका हुत्त सञ्जय लामाको अभिनय विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

 

नायिका सुनिता लुङ्बाले चलचित्रमा प्रमुख भूमिकामा अभिनय गरेकी छन्। दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी लुङ्बाले यस फिल्मलाई "आत्मामा छोएको अनुभव" भनेकी छिन्।

 

“सबै चलचित्रमा मेहनत गरेकी छु, तर यो चलचित्र हेरेर म आफैं रोएँ,” उनले भनिन्, “किनभने यो चलचित्र साँच्चै नै उत्कृष्ट बनेको छ।”

 

चलचित्रमा सञ्जय र लुङ्बासँगै तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरूको अभिनय रहेको छ।

 

चलचित्र टोलीले काठमाडौं र वरपरका दर्शकहरूलाई विशेष प्रदर्शनीमा उपस्थित भई सांस्कृतिक यात्रामा साथ दिन आग्रह गरेका छन्।

 

चलचित्रले तामाङ भाषिक फिल्म क्षेत्रलाई मात्र नभई नेपाली चलचित्र जगतलाई पनि बहुभाषिक, बहुसांस्कृतिक सहअस्तित्वको गतिशील संकेत दिने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस