काठमाडौं, असार २२, २०८२ । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडबीच साधारण शेयर (IPO) निष्काशनसम्बन्धी दुई पक्षीय सेवा सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतासँगै मुक्तिनाथ क्यापिटल अब गर्जाङ उपत्यका हाइड्रोको आईपीओ निष्काशनको प्रमुख व्यवस्थापक (Issue Manager) को जिम्मेवारीमा रहनेछ।
काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडका अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार, गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँ मध्ये २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ। प्रतिकित्ता रू. १०० अंकित दरमा शेयर निष्काशन गरिनेछ।
आवश्यक नियामक स्वीकृति पश्चात प्रक्रिया अगाडि बढ्ने
निष्काशन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले आवश्यक पर्ने नेपाल धितोपत्र बोर्ड (SEBON) लगायतका नियामक निकायबाट पूर्वस्वीकृति लिने प्रक्रियामा रहेको जनाएको छ। स्वीकृति प्राप्त भएपछि निष्काशन प्रक्रिया सार्वजनिक रूपमै अघि बढाइनेछ।
जलविद्युत् परियोजना सञ्चालनमा
गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले रामेछाप जिल्लामा अवस्थित २.८३ मेगावाट क्षमताको "चके खोला जलविद्युत् आयोजना" निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। रन–अफ–दि–रिभर प्रविधिमा आधारित यो आयोजना केही समयदेखि व्यावसायिक उत्पादनमा रहेको कम्पनीले जानकारी दिएको छ।
यस कम्पनीको प्रारम्भिक रूप प्राइभेट लिमिटेडको रूपमा स्थापना गरिएको भए पनि पछिल्लो समय पब्लिक लिमिटेडमा रूपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइएको हो।
लगानीकर्ताका लागि आकर्षक अवसर
निष्काशन व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आगामी दिनमा यस आईपीओ प्रक्रिया पारदर्शी र सुगम बनाउने प्रतिबद्धता जनाएको छ। कम्पनीले नियमित वित्तीय पारदर्शिता, परियोजनाको उत्पादन क्षमता, तथा प्रतिफलका आधारमा गर्जाङ हाइड्रोको आईपीओले लगानीकर्ताका लागि स्थिर र दीर्घकालीन प्रतिफल दिने सम्भावना रहेको बताइएको छ।
प्रतिकृया दिनुहोस