• सोमबार-असार-१६-२०८२

क्लब विश्वकपमा बायर्न म्युनिख र पिएसजी क्वार्टरफाइनलमा

 

काठमाडौं । क्लब विश्वकप २०२५ अन्तर्गत युरोपेली पावरहाउस बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । दुवै टोलीले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

 

जर्मन क्लब बायर्न म्युनिखले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय ग‍रेको हो । त्यस्तै, पिएसजीले अमेरिकी क्लब इन्टर मियामीमाथि एकतर्फी दबाब कायम राख्दै ४–० को सहज जित दर्ता गर्यो ।

 

बायर्न म्युनिखले खेलको सुरुवातदेखि नै दबाब बनाएको थियो। छैटौं मिनेटमै फ्लामेन्गोका एरिक पल्गरले आत्मघाती गोल गरेपछि बायर्नले अग्रता लियो। नवौं मिनेटमा ह्यारी केनले गोल गर्दै बायर्नको अग्रता २–० बनाए ।

 

फ्लामेन्गोका जेर्सनले ३३औं मिनेटमा गोल फर्काएर खेलमा फर्किने संकेत दिए पनि, बायर्नका लियोन गोरेत्स्काले ४१औं मिनेटमा तेस्रो गोल गर्दै पुनः दुई गोलको अग्रता दिलाए । दोस्रो हाफमा फ्लामेन्गोका जोर्जिन्होले ५४औं मिनेटमा गोल गर्दै खेललाई ३–२ बनाए। तर, ह्यारी केनले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको ४–२ को जित पक्का गरे ।


पिएसजीले इन्टर मियामीविरुद्ध सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन ग‍र्यो । छैटौं मिनेटमा जोआओ नेभ्सले गोल गर्दै अग्रता दिलाए। उनले ३९औं मिनेटमा दोस्रो गोल थप्दै पिएसजीलाई बलियो स्थितिमा पु‍र्याए ।

 

४४औं मिनेटमा इन्टर मियामीका टोमास एभिल्सले आत्मघाती गोल गरे भने पहिलो हाफको अतिरिक्त समय (४५ प्लस ३ मिनेट) मा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ४–० को स्पष्ट अग्रता दिलाए । 
अब क्वार्टरफाइनलमा पिएसजी र बायर्न म्युनिख आमनेसामने हुनेछन्, जसले क्लब विश्वकपको सेमिफाइनल यात्रा तय गर्नेछ ।
 

 

प्रतिकृया दिनुहोस