काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई अझ मजबुत बनाउन संसदीय अभ्यासमा सुधार आवश्यक रहेको बताएकी छन् ।
संसद दिवस २०८२ को अवसरमा सोमबार सार्वजनिक शुभकामना सन्देशमा उपसभामुख रानाले संसद् जनतासँग प्रत्यक्ष रूपमा जोडिएको संस्थान भएकोले यसको कार्यशैलीमा सुधार र विश्वासको प्रत्याभूति अपरिहार्य भएको स्पष्ट पारेकी हुन् ।
‘संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, ’उनले सन्देशमा उल्लेख गरेकी छन्, ‘संसद् कमजोर हुँदा जनताका आवाजहरू दबाइन्छन्, त्यसैले संसदीय सर्वोच्चताका लागि हामी सबैले भूमिका खेल्न जरुरी छ ।’
उनले संसद् दिवसले संघीय संसद्, संविधानसभा, पूर्वसांसद, संसद् सचिवालय, राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण नेपाली जनतालाई लोकतन्त्रको रक्षा र सुदृढीकरणमा प्रेरणा दिने अपेक्षा राखेको बताइन् ।
वि.सं.२०१६ साल असार १६ गते पहिलोपटक नेपालमा निर्वाचित संसद्को बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाइन्छ । यस ऐतिहासिक दिनको सन्दर्भमा उपसभामुख रानाले लोकतान्त्रिक व्यवस्था स्थापनाका क्रममा शहीद भएका सम्पूर्ण महान व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, आन्दोलनमा सहभागी जनताको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुन सबैलाई आग्रह गरिन् ।
प्रतिकृया दिनुहोस