मध्यविन्दु (नवलपरासी), १५ असार : बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
“अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो । “अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ”, प्रहरी उपरीक्षक ढकालले भन्नुभयो ।
निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटकपटक बगाउँदै आएको छ ।
---
प्रतिकृया दिनुहोस