म्याग्दी, असार १३ – ‘किताब मात्र पढेर कहाँ जीवन चल्छ र?’ भन्ने भनाइलाई व्यवहारमा उतारेको छ म्याग्दीको श्री विद्योदय आधारभूत विद्यालयले। असार १५ गतेको अवसर र सेराेफेराे पारेर विद्यालयले असार १३ गते शुक्रबार एक अनौठो, रमाइलाेका साथै प्रेरणादायी कार्यक्रम आयोजना गर्यो-विद्यार्थीहरूलाई लिएर सिधा खेतमा ।शिक्षा र कृषिको जीवन्त मिलनबेनी नगरपालिका–१० वाखेतस्थित यो विद्यालयले नियमित शुक्रबारे कार्यक्रममा यस पटक ‘धान दिवस’ विशेष बनाएर स्थानीय कृषक राजेन्द्र पाइजाको खेतमा रोपाइँ गर्यो। विद्यार्थीहरूले हिलोमा रमाउँदै धान रोपे, असारे भाकामा गीत गाउँदै आली लगाए, अनि दहीचिउरा खाँदै नेपाली परम्पराको स्वाद पनि लिए। तर यो केवल रमाइलो मात्र थिएन— यसमा शिक्षा थियो, सिप थियो, संस्कार थियो।
किताबी ज्ञानबाट व्यवहारिक शिक्षातर्फ यात्रा
विद्यालयले सामाजिक अध्ययनदेखि सृजनात्मक कला र व्यवसायिक शिक्षा जस्ता विषयहरूलाई खेतमै लिएर गएको हो। निमित्त प्रधानाध्यापक तथा सूचना अधिकारी अमृता जिसी रोकाका अनुसार, “विद्यार्थीले जीवनका व्यावहारिक पाठहरू किताबसँगै सिकुन् भन्ने हाम्रो प्रयास हो। रोपाइँले श्रम, प्रकृति र कृषि प्रतिको सम्मान जगाउने उद्देश्य बोकेको छ।”
प्रयोगात्मक मूल्यांकन: खेतमै परीक्षा !
शिक्षकहरूले विद्यार्थीकै खेतमा ‘प्रयोगात्मक मूल्यांकन’ गरे- कसरी बिरुवा समाते, माटो तयार पारे, सहकर्मीलाई सहयोग गरे, अनुशासन पालन गरे-यी सबै हेरेर मूल्यांकन गरियो। यो परम्परागत परीक्षामुखी शिक्षालाई चुनौती दिने ‘पाठ सिक्ने र देखाउने’ शैली हो।
कक्षा ८ का अप्सन किसान भन्छन्, “असारे गीत गाउन गाउन आली लगाउँदै गर्दा खेत रमाइलो पार्क जस्तै लाग्यो।”
कक्षा ७ की कृष्टी पाइजा र विपिना पुनले भने, “पहिलोपटक विद्यालयले यस्तो कार्यक्रम राख्यो। माटोमा खेल्दा र बिरुवा रोप्दा जीवन बुझियो।”
शिक्षा पनि भयो, संस्कृति पनि बचाइयो
विद्यालयका कार्यक्रम संयोजक सुजन पुन भन्छन्, “यस्ता कार्यक्रमले विद्यार्थीमा सृजनशीलता मात्र होइन, आफ्नो संस्कृति प्रतिको माया पनि बढाउँछ। अहिलेका बालबालिका असारे भाका सुन्दैनन्, खेत देख्दैनन्। यसरी उनीहरूलाई सीप मात्र होइन, इतिहास पनि सिकाउने मौका मिल्छ।”
सांस्कृतिक संरक्षणको सशक्त उपाय
जब गाउँघरमा रोपाइँ घट्दै गएको छ, असारे गीतहरू रेडियोमा मात्र सीमित छन्- त्यतिबेला विद्यालयकै अगुवाइमा असारे माहोल सिर्जना गर्नु आफैमा सांस्कृतिक पुनर्जागरण हो। विद्यालयलाई विश्वास छ- यस्तो प्रयासले विद्यार्थीमा प्रकृति, श्रम र संस्कृतिप्रतिको चेतना जाग्नेछ।
राष्ट्रिय धान दिवसको स्मरण
वि.सं. २०६१ सालदेखि नेपालले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। परनिर्भरता घटाउने, उत्पादकत्व बढाउने र कृषिप्रति नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। ‘मानो रोपेर मुरी फलाउने’ भनाइलाई जीवन्त बनाउने दिन- त्यसमाथि पनि ‘हिलो खेल्ने र दहीचिउरा खाने’ असल बहानाको दिन हो यो।
६४ विद्यार्थी र शिक्षकको सहभागिता
विद्यालयका कक्षा ४ देखि ८ सम्मका करिब ६४ जना विद्यार्थी र शिक्षकहरू सहभागी भएको यो कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ प्रयोगको उदाहरण प्रस्तुत गरेको छ। ‘स्कुलको पाठशालाबाट खेतको पाठशालासम्म’को यो यात्रा अझ धेरै विद्यालयका लागि प्रेरणा बन्न सक्नेछ।
निष्कर्ष
श्री विद्योदय आधारभूत विद्यालयले देखाएको यो बाटोले सिकाउँछ— शिक्षा भनेको कितावका पाना मात्र होइन, जमिनसँगको सम्बन्ध पनि हो। र यो सम्बन्ध रोपाइँको हिलोमा अझ मजबुत भएर उम्रिन सक्छ।
प्रतिकृया दिनुहोस