• आइतबार-जेठ-२५-२०८२

सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन

 

गण्डकी, २४ जेठ : कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं २४ गणले ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सञ्चालन गरेको छ ।

 

पोखरा महानगरपालिकासँगको समन्वयमा भइरहेको तालिम आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ । गणका गणपति एवं सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले महानगरभित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी ५० जना प्रशिक्षार्थीलाई विपद् वयवस्थापन तथा पूर्वतयारीसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

 

उहाँका अनुसार यही जेठ २१ गतेदेखि सुरू भएको तालिममा प्रशिक्षार्थीलाई नेपालमा विपद् व्यवस्थापन प्रणाली, बाढीपहिरो तथा डुवान, अग्नी नियन्त्रण, वन डढेलोलगायत विपद्मा डोरीद्वारा गरिने उद्धार, भुकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण, उद्धार सामग्रीको प्रयोगलगायत विषयमा तालिम दिइने छ ।

 

पानीमा हुने उद्धार अभ्यास पनि सञ्चालन गरिने गणपति तिमिल्सेनाले बताउनुभयो । “विपद्को समयमा स्थानीयस्तरमा उपलब्ध सामग्रीको तत्कालै अधिकतम प्रयोग गरी विपद् प्रतिकार्यमा जुट्न सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । ---

प्रतिकृया दिनुहोस