काठमाडौँ, २१ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा सरावतजहानबीच भेटवार्ता भएको छ ।
आज महासङ्घ सचिवालय टेकुमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा महाङ्घका अध्यक्ष ढकालले चालु आवको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिका रूपमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बजेटलाई सकारात्मक रूपमा लिएका छौँ । बजेटले छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमान्दार भए सम्भव छ ।”
अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासङ्घले सरकारसँग पैरवी गर्दै आइरहेको धारणा राख्नुभयो ।
डा सरावतजहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षालगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिनुभएको थियो । साथै उहाँले नेपाल सरकार र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसँग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिनुभयो ।
---
प्रतिकृया दिनुहोस