जनकपुर, १८ जेठ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आइतबार मधेश प्रदेश जाने भएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो ।
जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक÷एक सडक गरी ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् ।
कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुबर्षीय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपीआर समेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताईएको छ ।
मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ ।
प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् ।
प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताएका छन् ।
प्रतिकृया दिनुहोस