• सोमबार-जेठ-१९-२०८२

पिएसजी बन्यो पहिलो पटक च्याम्पियन्स लिग विजेता

 

काठमाडौं, १८ जेठ ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युईएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । इन्टर मिलानलाई  ५–० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो । 


फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए । हाकिमीले पहिलो हाफको १२औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने डुवेले २०औं मिनेटमा गोल गरेपछि पिएसजी दोब्बर गोलसहित अगाडि बढयो ।

 

उता, डुवेले दोस्रो हाफको ६३ औं मिनेटमा अर्को गोल थपिदिए भने त्यसको १० मिनेट पछि नै क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई‌ ४–० को फराकिलो बनाउन सफल भए । 
 

उता, खेल सकिनु केही समय अघि मैदानमा छिरेको ३ मिनेटमा नै मायुलुले ८६औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरेर पहिलो पटक पिएसजी च्याम्पियन बन्न सफल भएको हो ।


पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई‌ र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडे पछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको हो ।

 

यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएर दोस्रो स्थानमा चित्त बुझाउन विवश भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस