काठमाडौं, २०७८ जेठ १७। लोकप्रिय गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ। गीतमा उत्तम भण्डारीको शब्द र संगीत रहेको छ भने बावुल गिरीले एरेञ्ज, मिक्सिङ र माष्टरिङ गरेका छन्।
गीतको भिडियो उत्तम श्रेष्ठ (शिशिर)को निर्देशनमा तयार गरिएको हो। भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गी फिचर भएका छन्। विशाल थापा र टिमको सिनेमाटोग्राफी तथा मीन रावलको सम्पादनले भिडियोलाई प्रवाहपूर्ण बनाएको छ। विशाल कैनीको कोरियोग्राफीमा तयार गरिएको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
डान्सिङ प्याट्रनमा आधारित यस गीतको भिडियो दर्शकको मन जित्ने खालको छ। गायिका चौधरीले भनिन्, ‘हामी सबैको मिहिनेतबाट तयार भएको यस उत्कृष्ट भिडियोमा तपाईंहरूको साथ र समर्थनको अपेक्षा गरेका छौं।’ उनका धेरै गीत श्रोता–दर्शकको रोजाइमा परेका छन्। उनले यस गीत पनि मनपर्नेमा आफू आशावादी रहेको बताइन्।
थारु गीतमा लोकप्रिय अनुले नेपाली र हिन्दी भाषाका थुप्रै गीत गाइसकेकी छन्। गायनसँगै अभिनयमा पनि उनले छुट्टै पहिचान बनाएकी छन्। उनले मह जोडी र धिरने शाक्य जस्ता चर्चित कलाकारसँग अभिनय गरिसकेकी छन्।
कोरियोग्राफरको रूपमा पनि सक्रिय अनुले हालै ‘आमा आज पनि रुन्छिन्’ नामक चलचित्रमा अनुबन्धित भएकी छन्। उनले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुक अफ रेकर्ड समेत कायम गरेकी छन्। विमानभित्र गीत विमोचनदेखि प्याराग्लाइडिङमा आधारित भिडियो निर्माणसम्मका प्रयासमार्फत उनले विश्व कीर्तिमान राखेकी छन्। हालै उनले एक अवार्ड पनि जितेकी छन्।
प्रतिकृया दिनुहोस