• बिहीबार-जेठ-१५-२०८२

सशस्त्र प्रहरीद्वारा रौतहटमा विपद् स्वयंसेवक तयार गरिँदै

 

रौतहट । रौतहटमा प्रत्येक बर्ष वर्षायाममा हुनेगरेको विपदाजन्य घटनामा साथ सहयोगको लागि सशस्त्र प्रहरी बलले स्थानीय युवाहरुलाई विपद स्वयंसेवकको रुपमा परिचालन गर्न तयारी सुरु गरेको छ ।


युवाहरूलाई तयारी स्वरूप सशस्त्र प्रहरी बल नेपाल गण नं. ११ हे क्वा रौतहटको आयोजनामा मंगलवार देखी “विपद् स्वयंसेवक आधारभूत तालिम” सुरु गरेको हो ।

 

समुदायस्तरमै विपद् प्रतिकार्य क्षमताको विकास गर्न र तत्काल उद्धार कार्यमा स्थानीयको सक्रियता बढाउन तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताए  । 

 

स्वयंसेवक तालिममा गढीमाई नगरपालिका, माधव नारायण नगरपालिका, राजदेवी नगरपालिका, र कटहरिया नगरपालिकाका गरी कुल ३७ जना युवाहरु सहभागी छन् । तालिमको अवधि १८ दिनको हुनेछ ।


एसपी  बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरीका बिशेषज्ञहरुले तालिम दिने जनाईएको छ। तालिममार्फत विपद् पूर्वतयारी, प्राथमिक उपचार, खोज तथा उद्धार कार्य, विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रयोग सम्बन्धी जानकारी दिइनेछ ।


सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई सशक्त बनाउने उद्देश्यसहित देशभर विभिन्न स्थानमा यस किसिमको तालिम सञ्चालन गर्दै आएको छ । तालिमबाट स्थानीय तहमा विपद् स्वयंसेवक उत्पादन गरी सम्भावित विपद्का घटनामा तिव्र र प्रभावकारी प्रतिकार्य गर्ने लक्ष्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस