• बिहीबार-जेठ-८-२०८२

उपरथी दीपक कुमार बानियालाई समयअगावै अवकास, अवकास पत्रमा ‘धन्यवाद’ समेत उल्लेख भएन

 

काठमाडौं, जेठ ८ – नेपाली सेनाका कार्यरथी विभागमा कार्यरत उपरथी (जर्नेल) दीपक कुमार बानियालाई सेवा अवधिको तीन वर्ष पूरा हुन १५ दिन बाँकी छँदै समयअगावै अवकास पत्र थमाइएकाे छ। स्रोतका अनुसार, बानियाविरुद्ध सेवाकालमा अनियमित कार्य गरेको गम्भीर उजुरी परेपछि प्रधानसेनापति अशोकराज सिग्देलको निर्देशनमा उनलाई तत्काल अवकास दिइएको हो।

बानिया हाल तीन तारेको लाइनमा रहेका कार्यरथी विभागका प्रमुख थिए। उनले यसअघि गणपति, नगरकोट वार कलेज प्रमुख तथा पश्चिम पृतनापतिको जिम्मेवारी सम्हाल्दा विभिन्न अनियमितता गरेको उजुरीहरू सेनाको उच्च नेतृत्वसम्म पुगेका थिए।

पदावधि सकिन १५ दिन बाँकी थियो

नेपाल सेनामा उपरथीको पहिलो पदावधि ३ वर्षको हुन्छ भने दोस्रो पदावधि २ वर्ष थपिने व्यवस्था छ। बानियाको पहिलो पदावधि २०८२ साल जेठ २३ गते सकिँदै थियो। तर, दोस्रो पदावधिको लागि सिफारिस नभएपछि उनलाई जेठ ८ गतेबाट विदामा बस्ने गरी अवकास पत्र दिइएको हो।

विशेष कुरा त के छ भने, उनलाई दिइएको अवकास पत्रमा सेनाको परम्परागत 'धन्यवाद तथा शुभकामना' समेत उल्लेख गरिएको छैन, जुन सैनिक मर्यादा र सम्मानका दृष्टिले असामान्य मानिन्छ।

जिम्मेवारी अरूलाई बुझबुझारथ

बानियाले सम्हाल्दै आएको कार्यरथी विभागको जिम्मेवारी अहिले सैनिक संगठन निर्देशनालयका निर्देशक सहायक रथी दिवसराज रेग्मीलाई अतिरिक्त रूपमा बुझबुझारथ गर्न सैनिक सचिव सहायक रथी ध्रुवकुमार कार्कीले अनुरोध गरेका छन्।

स्रोतहरूका अनुसार बानियाको कार्यशैलीप्रति प्रधानसेनापति सिग्देल स्वयं असन्तुष्ट थिए। उनले पाएको अवकासलाई सेनाभित्र सन्देशमूलक कारबाहीका रूपमा हेरिएको छ।

https://www.sanghunews.com/

प्रतिकृया दिनुहोस