• बुधबार-जेठ-७-२०८२

बुद्ध जयन्तीमा लुम्बिनीको मंच, पाकिस्तानी दूतको निम्तो र भारतीय राजदूतको आक्रोश

बहुरूपी ल्हारक्याल लामा: विवादका स्थायी पात्र ?


काठमाडौँ, जेठ ७ गते । 'शान्तिका अग्रदूत' बुद्धको जयन्ती मनाउने तयारी लुम्बिनीमा चहलपहलका साथ भइरहेको थियो।  ढिलाेगरी प्राप्त कूटनीतिक असन्तुष्टिकाे  एउटा प्रसंग प्राप्त भएकाे छ । प्रसंग हाे,   'शान्तिका अग्रदूत' बुद्धको जयन्ती समाराेह- स्वदेश–विदेशका दूतावासहरूसमेत लुम्बिनी विकास कोषद्वारा आयोजित विशेष समारोहमा आमन्त्रित थिए। तर यही समारोह एकाएक कूटनीतिक मञ्चको झडप स्थल बन्न पुग्यो-जसको केन्द्रबिन्दु बने लुम्बिनी विकास कोषका बहुरूपी उपाध्यक्ष डा. ल्हारक्याल लामा। घटनाको जरो भने २० दिनअघिको एक त्रासदीपूर्ण घटनाबाट सुरु हुन्छ।

बैसरन हमलाः भारत–पाक युद्धको चिंगारी


२२ अप्रिल २०२५, जम्मू–कश्मीरको अनन्तनाग जिल्ला, पहलगाम नजिकको बैसरन उपत्यकामा आतंकवादीहरूले गरेको हमलामा २६ जना निर्दोष हिन्दु पर्यटकहरूको ज्यान गयो। १७ जनाभन्दा बढी घाइते भए। घटनाले तत्कालै भारत–पाकिस्तानबीचको तनावलाई युद्धसम्म पुर्‍यायो।

 

भारतले आक्रमणको दोष पाकिस्तानप्रति तेर्सायो र त्यसको जवाफस्वरूप सीमा क्षेत्रमा सैनिक कारबाही आरम्भ गर्‍यो। दुई देशबीचको द्वन्द्व उग्र बन्दै गएको समयमै आयो-बुद्ध जयन्ती।

 

बुद्ध जयन्तीको मञ्चमा पाकिस्तानी राजदूत !


२०८२ वैशाख २९ गते , मे १२ तारिख, बुद्ध जयन्तीको अवसरमा लुम्बिनी विकास कोषले विशेष समारोह आयोजना गर्‍यो। विभिन्न देशका राजदूतहरूलाई आमन्त्रण गरिए। तर समारोह सुरु हुनुअघि नै भारतीय राजदूतको चित्त दुःखिएको खबर आयो।

 

कूटनीतिक स्रोतका अनुसार, कार्यक्रमका आयोजक उपाध्यक्ष डा. ल्हारक्याल लामाले पाकिस्तानी राजदूतलाई पनि निम्तो पठाएका रहेछन्, जुन कुरा काठमाडौँस्थित भारतीय दूतावासलाई जानकारी दिइएन। संवेदनशील परिस्थितिमा, जहाँ भारत-पाक युद्धको स्थिति थियो, त्यहाँ यस्तै साझा कार्यक्रममा पाकिस्तानी प्रतिनिधिको उपस्थितिलाई भारतले अत्यन्तै  आपत्तिको रूपमा लियाे ।

"बहुरूपी" ल्हारक्याल लामा: विवादका स्थायी पात्र ?


   ल्हारक्याल लामाको नाम यसअघि पनि पटक–पटक विवादमा आइरहेको छ। कहिले चिनियाँ नागरिकता, कहिले तिब्बती, कहिले नेपाली -उनीमाथि 'बहुरूपी' नागरिकता बोकेको आरोप लागेको धेरै वर्ष भइसकेको छ। पछिल्लो समय लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेका लामा बुद्धको नाममा कार्यक्रम त गर्थे, तर कूटनीतिक संवेदनशीलता बुझ्ने चेतना भने देखिएन ।

एक कूटनीतिक अधिकारी भन्छन्,

"कुनै पनि साझा मञ्चमा खासगरी युद्धकालीन अवस्थामा दुई प्रतिस्पर्धी राष्ट्रका प्रतिनिधिहरूलाई बिना समन्वय राख्नु भनेको आगोमा घ्यू थप्नु हो।"

भारतीय राजदूतको तीव्र प्रतिक्रिया


स्रोतहरूका अनुसार, समारोहमा आउनुभएका  नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले "हामी यस्तो द्वैध नीति सहन सक्दैनौं" भनेर ल्हारक्याल लामाप्रति आक्रोश व्यक्त गर्दै कार्यक्रममा बस्न अस्वीकार गरे।  श्रीवास्तवले उपाध्यक्ष ल्हारक्याल समक्ष प्रत्यक्ष असन्तुष्टि पोख्दै कार्यक्रमस्थलबाट नै प्रस्थान गरे।

यो घटनालाई लुम्बिनी विकास कोषकै एक उच्च स्रोतले यसरी वर्णन गरे:

"उहाँ (भारतीय राजदूत श्रीवास्तव) ठ्याक्कै भन्नुभयो -यसमा हाम्रो  गम्भीर आपत्ति छ। अनि फर्किनुभयो।"

नेपाल–भारत सम्बन्धमै असर ?


भारत–नेपाल सम्बन्ध विगत केही महिनायता सकारात्मक ढंगले अगाडि बढिरहेको सन्दर्भमा आएको यो घटनाले भर्खर सुदृढ हुँदै गरेको आपसी विश्वासमा पुनः चिसोपन ल्याउने संकेत दिएको छ। त्यसमा पनि बुद्धको जन्मभूमिमा भारतले देखाएको आस्था, र नेपालले त्यसप्रति देखाउनुपर्ने समझदारीबीच ठूला ग्यापहरू छन् भन्ने कुरा यो घटनाले प्रस्ट पारेको छ।

एक अवकाशप्राप्त कूटनीतिज्ञ भन्छन्:

"नेपालले बुद्धको नाममा भारत र चीन दुवैलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ। तर त्यसो गर्दा नेपाल आफैं 'निस्क्रिय–सक्रियता' बीचको भ्रममा फस्ने खतरा छ।"

निष्कर्ष
बुद्धको शिक्षालाई आधार मानेर लुम्बिनीलाई शान्तिको केन्द्र बनाउन चाहने सपना यस्तै कूटनीतिक अदूरदर्शिता र निहित स्वार्थले बारम्बार ध्वस्त पारिरहेको छ। उपाध्यक्ष ल्हारक्याल लामाले देखाएको गैर–जिम्मेवार शैलीले न त लुम्बिनीको छवि उकास्नेछ, न नेपालको। बरु यस्तो गैर–सन्तुलित निर्णयले नेपालको बहुपक्षीय कूटनीतिक हैसियतलाई कमजोर पार्ने खतरा थप बढ्नेछ।


  

प्रतिकृया दिनुहोस