• बुधबार-जेठ-१-२०८२

खसीको नाममा बाख्रा, राँगाको नाममा भैंसीकाे मासु बिक्री !

मासु बजारमा मिसावटको राज, उपभोक्ता ठगिंदै–सरकार हेरेको हेरेकै


काठमाडौं । बजारमा महँगीले उपभोक्ताको ढाड सेकेको छ । तर, उपभोक्ताले तिरेको मूल्यअनुसार गुणस्तरीय सामान पाउन सकेका छैनन् । खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँ पर्छ । राँगाको मासु सात सयदेखि आठ सय रुपैयाँ पर्छ । तर, उपत्यकाका मासु पसल र होटल–रेष्टुरेण्टहरुले बाख्राको मासुलाई खसीको, भैंसीको मासुलाई राँगाको नाममा बेचेर उपभोक्तालाई दिनदहाडै ठगिरहेका छन् ।

 

उपत्यकामा खसी, बाख्रा, राँगा, भैंसी लगायतका पशु दैनिक काभ्रे, नुवाकोट, साँगा, कलंकी, बल्खु र अन्य ७७ जिल्लाबाट भित्रिन्छन् । तर, व्यापारीले जिँउदो बाख्रा तीन सय र भैंसी दुई सय रुपैयाँ किलोमा किन्न्छन्, मिसावट गरेर खसी र राँगाको मूल्यमा उपभोक्तालाई बेच्न पुग्छन् । राज्य, प्रशासन, प्रहरी, महानगरपालिका सबै मूकदर्शक बनेका छन् । उपभोक्ता भने- “हामीलाई कसले न्याय दिने र बचाउने ?” भनी प्रश्न गरिरहेका छन् ।

 

पसलैपिच्छे फरक मूल्य, स्वास्थ्यमा घातक असर


उपत्यकाका मासु पसलमा कुनै मूल्य सूची छैन । पसलैपिच्छे मनपरी भाउ राखिएको छ । अझ, खसीको मासु भनी बाख्राको मिसाएर बेच्ने, राँगाको नाममा भैंसीको मासु खपाउने प्रवृत्ति खुलेआम देखिन्छ । पार्टी प्यालेस, होटल–रेष्टुरेण्टमा त एक प्लेट मटनको नाममा ३ सयदेखि ३००० हजार रुपैयाँसम्म लिइन्छ । तर, त्यो मटन हो कि बाख्राको मिसावट ? कसैलाई थाहा छैन । उपभोक्तालाई अन्धकारमा राखेर महँगो मूल्य असुल्ने यो ठगी होइन भने के हो ?

 

मासुमा रसायन मिलाएर बेच्ने ?


जनगुनासोअनुसार, माछा, मासुमा विभिन्न केमिकल प्रयोग गरेर गन्ध हटाउने, रंग परिवर्तन गर्ने र पुरानो मासु नयाँझैँ बनाइने काम हुँदै आएको छ । त्यसको असर सर्वसाधारणको स्वास्थ्यमा परेको छ । होटल, रेष्टुरेण्ट र भान्साघरले सोझासाझा  उपभाेक्तालाई 'स्वाद'को नाममा 'विष' खुवाइरहेका छन् । कुनै परीक्षण छैन, कुनै नियमन छैन ।

 

कुखुरा मरेपछि गाडिँदैन, बेचिन्छ !


गर्मीकाे माेसम छ, कुखुरा फार्ममा मरेका कुखुरा किसानले गाड्ने होइन, काटेर बेच्ने गरेको खुलासा भएको छ । ती मरेका कुखुरा रसायन हालेर पसलसम्म ल्याइन्छ । त्यस्तै, माछा पसलमा महिनौंसम्म केमिकलमा डुबाएर राखिएको माछा बेचिन्छ । काठमाडाैं महानगर र वडा कार्यालयहरू नजिकैका माछा पसल हिँड्नै नसक्ने गरी गन्हाउँछन् । त्यही बाटो भएर मन्त्री, सांसद, मेयर, उप मेयर, वडा अध्यक्ष, सचिव, प्रहरी अधिकारी दिनहुँ हिँड्छन्, तर ध्यान दिँदैनन् । के तीन तहको सरकार कानमा तेल हालेर बसेको हो ?

 

अधिकांश मासु पसल अवैध !


उपत्यकामा अधिकांश मासु पसलको दर्ता छैनन् । मासुकाे मूल्यमा एकरूपता छैन, विक्रीका लागि कुनै मापदण्ड छैन । मासु काट्ने ठाउँ फोहोर छ । पसल, अचानो, पानी, खुकुरी, सबै दुर्गन्धित  झिंगा भन्कि रहेकाे पाइन्छ । मासु काट्ने व्यक्ति चुरोट तान्दै, पराग हाल्दै, लापरबाहीपूर्वक   झिंगा भन्काएर मासु बेचिरहेका हुन्छन् । रोगी जनावर काटिएको हो वा होइन ? महानगर, पालिकाहरू र सिडिओहरू  कसैले अनुगमन र परीक्षण गर्दैनन् । यस्तो बेफिक्रीको संरक्षण गरिरहँदा उपभोक्ता सस्तोमा विष किनिरहेका छन् ।

 

सस्तो मासु बिचौलियाको हात हुँदै उपभोक्तासम्म


बिचौलियाले गाउँमा १०० रुपैयाँ किलोमा बाख्रा किन्छन्, २०० मा सप्लायरलाई बेच्छन् । सप्लायरले ३०० मा व्यापारीलाई दिन्छन् । अनि त्यो मासु, खसी र राँगाको मासु भनेर उपभोक्ताले १,४०० सम्ममा किन्छन् । यस्तो ठगीको श्रृंखलामा सप्लायर र व्यापारी धनी हुँदै जान्छन्, उपभोक्ता रोगी र निर्धन बन्दै जान्छन् ।

सरकार बरू  : खसी–बाख्रा र राँगा–भैंसीको मूल्य एउटै बनाऊ, नत्र अनुगमन गर !
जनताको माग स्पष्ट छ–
१. बुढी भैंसी,  बुढी बाख्ना ल्याउने नाकानाकामा कडाइ गर, अवैध सप्लाई रोक, मिसावटको खेल बन्द गर ।
२. बरू कि खसी र बाख्राको मूल्य एउटै बनाऊ(किसानले मूल्य त पाउछन्) ।
३. मासु अनुगमन र जाँच नियमित  गर, चाडपर्वमा मात्रै होइन ।
४. अवैध पसल बन्द गर, फोहोर मासु, माछा पसललाई  कारबाही गर ।
५. होटल–रेष्टुरेण्टमा प्रयोग हुने मासु परीक्षण गर, उपभोक्ताको स्वास्थ्यसँग सम्झौता नगर ।

नत्र, जनताले भन्न बाध्य हुनेछन् – “अब मासु वहिस्कार गर्नुपर्ला  !”

प्रतिकृया दिनुहोस