• मंगलबार-बैशाख-३०-२०८२

ट्रम्पको पहिलो औपचारिक विदेश भ्रमण साउदीबाट, साउदीले अमेरिकामा १ ट्रिलियन लगानी गर्ने

 

वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट साउदी अरबको भ्रमणमा जाने भएका छन् । 

 

दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा भ्याटिकन सिटी पुगेका थिए ।

 

ट्रम्पले मे १३ मा साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । त्यसपछि उनले मे १४ मा खाडी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन कतार जानेछन् । ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन् ।

 

खासमा अमेरिकाको राष्ट्रपति बनेपछि क्यानडा, मेक्सिको वा कुनै पनि युरोपेली देश घुम्ने पुरानो चलन रहेको छ । तर, सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले सबैभन्दा पहिले साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए ।


दोस्रो पटक राष्ट्रपतिको रूपमा सपथ लिए पछि ट्रम्पले पहिलो व्यक्तिलाई साउदी राजकुमार एमबीएसलाई अमेरिका बोलाएका थिए । दुई नेताले मध्यपूर्वमा स्थायित्व ल्याउने, क्षेत्रीय सुरक्षा सुदृढ गर्ने र आतंकवादविरुद्ध लड्ने प्रयासबारे छलफल गरेका थिए ।

 

यस पछि साउदी सरकारले विज्ञप्ति जारी गर्दै आफ्नो देश आगामी चार वर्षभित्र अमेरिकामा ६०० अर्ब डलर लगानी गर्न तयार रहेको बताएको थियो । यद्यपि, ट्रम्पले भनेका थिए कि उनी यसलाई बढाएर १ ट्रिलियन डलरमा पुर्‍याउन चाहन्छन्, जसमा थप अमेरिकी सैन्य उपकरण खरिद पनि समावेश रहेको छ। साउदीको सार्वभौम सम्पत्ति कोष र सार्वजनिक लगानी कोष (पीआईएफ) मा ९२५ बिलियन रकम छ । 


साउदीले यस कोषमार्फत अमेरिकामा धेरै लगानी गरिसकेको छ । साथै, युएईले पनि आगामी १० वर्षमा अमेरिकाको एआई, सेमिकन्डक्टर, ऊर्जा र पूर्वाधार क्षेत्रमा १.४ ट्रिलियन डलर लगानी गर्ने इच्छा पनि व्यक्त गरेको छ ।

 

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा साउदी अरेबियालगायत खाडी मुलुकसँग राम्रो सम्बन्ध स्थापना गरेका थिए । ट्रम्पले पद छोडेपछि पनि साउदी अरेबियाले ट्रम्पका ज्वाइँ र पूर्व सहयोगी जारेड कुशनरको फर्ममा २ अर्ब डलर लगानी गरेको थियो ।

 

उता, कतारले ट्रम्पलाई ५५ अर्ब मुल्यको बिशेष बिमान जेट उपहार दिँदैछ । जमाल खशोग्गीको हत्यापछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध प्रभावित हुँदा कुश्नरले त्यसलाई सम्हाल्न सहयोग गरेको दाबी धेरै रिपोर्टहरूले गरेका छन् । 

 

ट्रम्पले साउदी अरेबियाको यो भ्रमण यस्तो समयमा गर्दैछन् जब उनको ट्यारिफले विश्वभर अशान्ति मच्चाएको छ । अमेरिकाको आर्थिक उत्पादन यस वर्षको पहिलो तीन महिनामा घटेको छ, जुन पछिल्लो तीन वर्षमा पहिलो गिरावट हो ।

 

प्रतिकृया दिनुहोस