• सोमबार-बैशाख-२९-२०८२

इला होटलको उद्घाटन : पर्यटनमैत्री संरचना विकासले समृद्धि सम्भव छ-अध्यक्ष ढकाल

 

२०८२ वैशाख २९, नवलपुर | नवलपुरको मौलाकाली क्षेत्रमा निर्माण गरिएको इला होटलको समुद्घाटन समारोहमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माणमार्फत मुलुकको समृद्धि सम्भव रहेको धारणा व्यक्त गरेका छन्।

समारोहमा बोल्दै अध्यक्ष ढकालले आइएमई हस्पिटालिटी अन्तर्गत पाँचौं होटलका रूपमा इला होटल सञ्चालनमा आएको जानकारी दिए। यसअघि बागलुङमा इला होटल, चन्द्रागिरिमा चन्द्रागिरि हिल्स रिसोर्ट, लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइडमा लेकसाइड रिट्रिट सञ्चालनमा रहेको उनले बताए।

सञ्चालनमा रहेका होटल तथा रिसोर्ट:

  • इला होटल, मौलाकाली (नवलपुर) – २०८२ वैशाख २९ गते उद्घाटन

  • इला होटल, बागलुङ – केही महिना अघि उद्घाटन

  • चन्द्रागिरि हिल्स रिसोर्ट, काठमाडौँ

  • होटल ले हिमालय, लाजिम्पाट

  • लेकसाइड रिट्रिट, पोखरा

केबलकार परियोजनाहरू:

  • चन्द्रागिरि (काठमाडौँ) – सफल सञ्चालनमा

  • लुम्बिनी (बसन्तपुर) – होटल निर्माण प्रक्रिया अघि बढ्दै

  • कैलाली (सुदूरपश्चिम) – एक वर्षभित्र केबलकार सञ्चालन

  • पाथीभरा (ताप्लेजुङ) – निर्माण कार्य जारी

ढकालको दृष्टिकोण:

  • पर्यटन पूर्वाधार नै समृद्धिको मूल चुरो

  • निजी क्षेत्रलाई सहजीकरण बिना विकास असम्भव

  • "सरकार बिना लगानीको साझेदार हुन सक्छ"

  •  

ढकालले सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण गर्ने योजना अन्तर्गत हालसम्म तीन प्रदेशमा केबलकार सञ्चालनमा आइसकेको उल्लेख गरे। "आजको होटल सञ्चालनसँगै दुई स्थानमा होटलसहितका आयोजना सम्पन्न भएका छन्," उनले भने।

 

लुम्बिनीको बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको, कैलालीमा केबलकार, रिसोर्ट र होटलको संयुक्त निर्माण भइरहेको र ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण जारी रहेको जानकारी उनले दिए।

 

नेपालमा पर्यटन पूर्वाधारको अभावले गर्दा विदेशी पर्यटकको औसत बसाइ र खर्च कम भइरहेको उल्लेख गर्दै ढकालले ठूला पर्यटन संरचना निर्माण गर्न आवश्यक रहेको धारणा राखे। "औसतमा पर्यटक १२ दिन बस्छन् र दैनिक ५० डलरभन्दा कम खर्च गर्छन्। यो स्थितिमा सुधार ल्याउन ठोस पूर्वाधार आवश्यक छ," उनले स्पष्ट पारे।

 

उनले पर्यटन पूर्वाधारले विदेशी मुद्रा, रोजगारी र राजस्व वृद्धिमा सहयोग गर्ने भन्दै सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने व्यवहारिक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। "सरकारले बिना लगानी नै प्रतिफल लिन सक्छ, त्यसैले निजी क्षेत्रलाई वास्तविक साझेदार ठान्नुपर्छ," उनले भने।

 

नवलपुर क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई स्मरण गर्दै ढकालले मौलाकाली क्षेत्र, देवघाट, त्रिवेणी लगायतका स्थलहरुको प्रवर्द्धनका लागि पर्यटन संरचना विकास अपरिहार्य रहेको बताए। “प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई पर्यटकको पहुँचमा ल्याउँदा मात्र तिनको महत्व अझ फैलिन्छ,” उनले जोड दिए।

 

उनले स्थानीय जनताको सहभागितामा आधारित मोडलमार्फत इला होटललाई स्थानीयको आफ्नै सम्पत्तिका रूपमा विकास गर्न लागिएको बताए। चन्द्रागिरिमा बनेको केबलकार परियोजनाले छोटो समयमै सफलता हासिल गरेको उदाहरण दिँदै उनले यस्ता संरचनाले अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष असर पार्ने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा उपस्थित संघीय, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, स्थानीयवासी, मन्दिर तथा वन समितिहरूप्रति आभार प्रकट गर्दै अध्यक्ष ढकालले "जहाँ ढुंगा ढुंगामा देवताको बास छ" भन्ने गीत स्मरण गर्दै डाँडाकाँडामा पर्यटन सम्भावना खोज्न आफूलाई प्रेरणा मिल्ने बताए।

– संवाददाता, sanghunews.com

प्रतिकृया दिनुहोस