काठमाडौं । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।
भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो ।
नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निःसन्देह रूपमा भर्त्सना गरेको थियो ।
‘आतङ्कवाद विरुद्धको लडाइमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’ मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।
प्रतिकृया दिनुहोस