पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ ।
हिन्दू संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पूरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन् ।
सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध गरेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तिर्थस्थलको रूपमा रहेकोले पनि आफ्ना सन्तानको व्रतबन्ध गर्न कोटिहोम स्थल रोजेको अभिभावकको भनाइ थियो ।
व्रतबन्ध कार्यक्रम दक्ष पण्डित गुरुजनको निर्देशनमा विधिपूर्वक गरिएको थियो । कार्यक्रमको विशेषता स्वरूप प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइ शास्त्रोक्त विधिबाट संस्कार गरी संस्कार पश्चात् बालकहरूलाई ब्राह्मणका तीन ऋण—देवगण, ऋषिगण, र पितृगण—को जानकारी दिएको सम्पूर्ण कर्मकाण्डका व्यवस्थापक पं.चूडामणि पाण्डेले जानकारी दिए । यस अवसरमा ग्रहशान्ति, वेद पाठ, मन्त्रोच्चारण, र विशेष हवन समेत गरिएको थियो ।
सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदै छ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण भएको आफन्तको बुझाइ छ । यस अघि दर्जनौँ बालकहरूको व्रतबन्ध भइसकेको छ । धेरै अभिभावकहरूले महायज्ञको पावन अवसरलाई उपयोग गर्दै आफ्ना सन्तानको व्रतबन्ध गराउने तयारी गरिरहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा ४ वेद, १८ पुराण र १०८ श्रीमद्भगवत पाठ पारायणको श्रवण, हवन, पार्थिव शिवलिड्ड पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, व्रतबन्ध, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन् ।
प्रतिकृया दिनुहोस