डा. ठाकुर मोहन श्रेष्ठ कूटनीतिज्ञ जाकिर खानलाई हस्तान्तरण
काठमाडौं, वैशाख १२ – हालै भारतको जम्मु कश्मीर अन्तर्गत पहलगाममा भएको भीषण आतङ्ककारी घटनाको कडा निन्दा गर्दै नेपाल नागरिक अभियानका तर्फबाट पाकिस्तानी दूतावासमा औपचारिक विरोध पत्र बुझाइएको छ। विरोध पत्र सशस्त्र प्रहरी बल नेपालका पूर्व अतिरिक्त महानिरीक्षक तथा राप्रपा नेता डा. ठाकुमोहन श्रेष्ठद्वारा दूतावासमा कार्यरत वरिष्ठ कूटनीतिज्ञ जाकिर खानलाई हस्तान्तरण गरिएको हो।
📜 विरोध पत्रमा के लेखिएको छ ?
२०८२ वैशाख ९ गते (२२ अप्रिल २०२५) का दिन जम्मु कश्मीर राज्यको पहलगाम क्षेत्रमा घुसपैठ गरी आएका भनिएका पाकिस्तानी आतंककारीहरूले हिन्दु धर्मावलम्बीहरूलाई लक्षित गर्दै बर्बर हत्या गरेको विरोध पत्रमा उल्लेख छ। यस जघन्य हमलामा नेपाली युवा विद्यार्थी सुदीप न्यौपानेसहित २६ जना भारतीय हिन्दु नागरिकहरूको अमानवीय ढंगले हत्या गरिएको भन्दै नेपाल नागरिक अभियानले गम्भीर आपत्ति जनाएको छ।
विरोध पत्रमा पाकिस्तानका सेना प्रमुखद्वारा केही दिनअघि विश्व हिन्दु समुदायविरुद्ध दिएको अपमानजनक अभिव्यक्तिले धार्मिक उत्तेजना फैलाएको र त्यसको प्रत्यक्ष असर पहलगाम घटनामा देखिएको दाबी गरिएको छ। यस घटनाले केवल भारत वा नेपाल मात्र होइन, सम्पूर्ण हिन्दु समुदायको अस्तित्व र अस्मितामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै भर्त्सना गरिएको छ।
🔴 ठाकुमोहन श्रेष्ठको भनाइ
नेपाल नागरिक अभियानका अगुवा डा. ठाकुमोहन श्रेष्ठका अनुसार, “हाम्रो अभियानले पाकिस्तानप्रति कुनै व्यक्तिगत द्वेष राख्दैन तर निर्दोष हिन्दुहरूलाई लक्षित गरी गरिएको आतंकको समर्थन कुनै हालतमा गर्न सकिँदैन। अन्तर्राष्ट्रिय समुदायले यस्तो गैर-मानवीय आक्रमणको स्पष्ट शब्दमा निन्दा गर्नुपर्छ।”
🔍 दूतावासमा कडाइ
विरोध पत्र बुझाउने क्रममा काठमाडौंको महाराजगञ्ज चुनदेवीस्थित पाकिस्तानी दूतावास वरपर उच्च सुरक्षा व्यवस्था गरिएको थियो। केहीबेर दूतावास परिसर बाहिर नाराबाजी पनि गरिएको थियो, जसमा “आतङ्कवाद मुर्दावाद” र “हिन्दुहरूको हत्या बन्द गर” भन्ने जस्ता नारा गुन्जिएका थिए।
प्रतिकृया दिनुहोस