काठमाडौं । नेपाल प्रहरीले जनपथ प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जनाको बढुवाका लागि सिफारिस सार्वजनिक गरेको छ । २०८२ वैशाख १२ गते बसेको बढुवा समितिको निर्णय अनुसार जनपथ प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरूलाई सई पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा सूची प्रहरी मुख्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको हो। सूचीमा समावेश प्रहरी कर्मचारीहरूको वरिष्ठता, कार्यसम्पादन, अनुशासन र सेवा अवधिलाई मापदण्डका रूपमा लिइएको जनाइएको छ।
प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस भए अनुसार, नम्बर एकमा पर्न सफल भएका छन्, सचिन कुमार भदैसवार, २ नम्बरमा सन्दीप बि.क., नम्बर तीनमा इन्कार ओली, चारमा राजकुमार कटवाल, पाँचमा चन्द्र बहादुर राउत, छ नम्बरमा राजकिशाेर प्रसाद साह, सातमा राेशन प्रसाद राजबंशी, आठ नम्बरमा लक्ष्मी मायाँ दाहाल, नाै नम्बरमा नारायण प्रसाद भण्डारी र दस नम्बरमा पर्ने भाग्यमानी हुन् गणेश ढकाल ।
नेपाल प्रहरी संगठनमा हालै मात्र नेतृत्व फेरिएको छ। दीपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएसँगै संगठन चलायमान भएको महसुस गरिएको छ। उनकाे नेतृत्वमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया पुनः गतिमा आएको हो।
निवर्तमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको कार्यकालमा बढुवा प्रक्रिया सुस्त देखिएको थियो। तर, आईजीपी थापाले पद सम्हालेको एक महिनाभित्रै रिक्त प्रहरी निरीक्षक , प्रहरी नायब निरीक्षक (सइ) डीआइजीपीसम्मका अधिकांश पदहरूमा बढुवा प्रक्रिया तीव्र बनाएका छन् ।
बढुवा मात्र होइन, सरूवामा पनि थापाको सक्रियता देखिएको छ। संगठनमा ऊर्जाशील वातावरण सिर्जना गर्दै प्रभावकारी नेतृत्वको अभ्यास गरिरहेका थापाले कार्यकुशलता, निष्ठा र योग्यता मूल्यांकनमा आधारित निर्णय लिँदै आएको बताइएको छ।
आइजीपी थापाको नेतृत्वले सशक्त र अनुशासित प्रहरी बल निर्माणमा सकारात्मक संकेत दिएको भन्दै प्रहरी संगठनभित्रै र बाहिर पनि प्रशंसा हुन थालेको छ। विभागीय प्रमुखहरू सक्रिय बन्न थालेका छन् भने फिल्डमा कार्यरत प्रहरी कर्मचारीको पाराे उच्च देखिएको छ।
प्रहरी संगठनको आन्तरिक सन्तुलन र मनोबल उच्च राख्न, बढुवा र सरूवा प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउँदै लैजाने रणनीति आइजीपी थापाले लिएका छन्।
आइजीपी थापाकाे नेतृत्वमा जनताको सेवा, शान्ति सुरक्षा र कानून कार्यान्वयनमा प्रतिबद्ध प्रहरी संगठनलाई अझै सक्षम बनाउन यस्ता सुधारात्मक कदमहरू निरन्तर जारी रहने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस