रौतहट, १२ बैशाख । रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको हत्यागरी फालिएको अवस्थामा शव फेला परेको हो ।
पछिल्लो ५ दिन देखि हराईरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा बर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीले बताएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्की सहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको छ ।
बरामद शवको प्रकृती हेर्दा कर्तव्य गरि हत्या गरिएको जस्तो देखिएको डिएसपी कार्कीले जानकारी दिएका छन् । बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डिएसपी कार्कीले बताएका छन् ।
शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ । गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाइकल चढेर निस्केको थियो ।
त्यसको ३ दिनसम्म बालक घरमा फिर्ता न आउँदा गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा वालवालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो ।
घटनासम्बन्धी थप अनुसन्धान भै रहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाइकल हाल सम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रतिकृया दिनुहोस