नयाँदिल्ली, ११ वैशाख (रासस/एएफपी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।
हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म सारा विश्वलाई भन्छु : भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुना सम्म खोज्नेछौँ ।”
पर्यटकीय स्थल पहलगाममा भएको गोलीकाण्ड सन् २००० यता विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो ।
मारिएका पुरुषहरूमध्ये २६ जना भारतीय र एक जना नेपाली थिए ।
भारतले २०८२ वैशाख १० गते बुधबार इस्लामाबादलाई ‘सीमापारि आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृङ्खलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाएको थियो ।
पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ ।
बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले मारिएकाहरूको सम्झनामा पहिले दुई मिनेट मौन धारण गर्नुभयो ।
“म यो स्पष्ट रूपमा भन्छु : जसले यो आक्रमण गरेको छ र जसले यसको योजना बनाएको छ, तिनीहरूको कल्पनाभन्दा बाहिर तिनीहरूलाई भुक्तान गरिनेछ”, उहाँले ठूलो भिडको अगाडि हिन्दीमा बोल्दै भन्नुभयो, “तिनीहरूले निश्चय नै भुक्तान गर्नेछन् । यी आतङ्कवादीहरूसँग जति थोरै भूमि छ, त्यसलाई धूलोमा मिलाउने समय आएको छ । एक अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले यी आतङ्कवादीहरूको मेरुदण्ड तोड्नेछ ।”
उहाँले अङ्ग्रेजीमा दुर्लभ टिप्पणीहरू दिएर आफ्नो भाषण समाप्त गर्नुभयो र तिनीहरूलाई विदेशमा दर्शकहरूसम्म पुर्याउनुभयो ।
“आतङ्कवाद दण्डित हुने नै छ”, मोदीले भन्नुभयो, “न्याय सुनिश्चित गर्न हरेक प्रयास गरिनेछ ।”
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्छन् ।
विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् ।
भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।
–––
प्रतिकृया दिनुहोस