काठमाडौं, वैशाख ७, २०८२ — आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा वैशाख ६ गते शनिबार अपराह्न १ बजे सम्पन्न साहित्य सन्ध्याको नियमित मासिक ४६२ औँ श्रृंखलामा ‘मुलुकमा देखिएको अराजकता र त्यसको समाधान’ विषयमा विशेष परिचर्चा र शुभकामना कविगोष्ठी आयोजना गरिएको थियाे।
कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा प्रा. केशव सुवेदी सहभागी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा वासुदेव अधिकारी, विधान आचार्य, डा. फणीन्द्रराज निरौला, नन्दु उप्रेती, डा. कृष्ण सुवेदी, डा. रूपनारायण श्रेष्ठ, डम्बर पहाडी, महेशराज खरेल, रेणुका भट्टराईलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रा. सुवेदीले अराजकताबारे विश्लेषण गर्दै भने, “शासनको अनुपस्थिति, अनुशासनहीनता, छाडापन र सत्ताको दुरुपयोग अराजकताको कारण हुन्। पूर्वीय र पाश्चात्य चिन्तनको मिलनमार्फत मात्र अराजकताको समाधान सम्भव छ।” उनले चाणक्य, शुक्राचार्य, मनु र महाभारतको सन्दर्भ दिँदै सामाजिक अनुशासन र सुशासनको महत्त्वमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न स्रष्टाहरू — ओमप्रसाद कोइराला, डा. मनोज जोशी, बलराम विष्ट, नवराज श्रेष्ठ, प्रशान्त खरेल, कुमार नेपाल, रेणुका भट्टराई, अनिल सिञ्जाली, अमला अधिकारी, बाबुराम श्रेष्ठ लगायतले कविता, गीत तथा गजल वाचन गर्नुभयो।
वरिष्ठ स्रष्टा विधान आचार्यले रचनात्मक समिक्षा प्रस्तुत गर्दै भन्नुभयो, “आजका कविताहरूमा समाज, आन्दोलन, श्रम, मातृत्व, दर्शन र असहमतिको साहस झल्किन्छ। यथार्थसँग जुध्ने चेतनशील कविका स्वरहरू सुनिन पाए।” उनले साहित्य सन्ध्याको निरन्तरता र नवप्रतिभाको उत्थानमा यसले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्यालाई वैचारिक कार्यशाला र सामाजिक रूपान्तरणको सशक्त माध्यमको रूपमा वर्णन गर्दै, “अराजकता जस्ता विकृति विरुद्ध साहित्यको धारिलो हस्तक्षेप जरुरी छ,” भन्नुभयो।
कार्यक्रमको अन्त्यमा उपाध्यक्ष रमेश पोखरेलले सबै अतिथि, वक्ता, कवि तथा स्रष्टाप्रति आभार व्यक्त गर्दै आगामी श्रृङ्खलामा पनि समसामयिक विषयमा विमर्श र कविगोष्ठी जारी रहने जानकारी दिनुभयो।
प्रतिकृया दिनुहोस