• शनिबार-बैशाख-६-२०८२

सेन्ट्रल अफ्रिकनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको सफल अदली–बदली

काठमाडौँ, वैशाख २ – संयुक्त राष्ट्रसंघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदली–बदली प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा तैनाथ High Readiness Protection Battalion (HRPB) अन्तर्गत ‘दि फेमश महिन्द्रदल गण (शान्ति सेना)’ को छैठौँ डफ्फा र सैनिक प्रहरी युनिटको नवौँ डफ्फालाई रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र सैनिक प्रहरी युनिटको दशौँ डफ्फाले प्रतिस्थापन गरेका छन्।

नयाँ टोलीमा १६३ जना रिपुमर्दन गणका शान्ति सैनिकहरू र ३२ जना सैनिक प्रहरी युनिटका सैनिकहरू समावेश छन्। १९५ सदस्यीय टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा वैशाख २ गते संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको हो।

 

यसअघि सोही मितिमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी ‘दि फेमश महिन्द्रदल गण’ को छैठौँ डफ्फाका १६५ जना, सैनिक प्रहरी युनिटको नवौँ डफ्फाका ३२ जना र National Support Team का ३ जना गरी कुल २०० जना शान्ति सैनिकहरू प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा स्वदेश फर्किएका थिए।

 

हाल MINUSCA मिसनमा नेपाली सेनाका १,२४४ जना शान्ति सैनिकहरू विभिन्न भूमिकामा कार्यरत छन्। उनीहरूको योगदानले अन्तर्राष्ट्रियस्तरमा नेपालको साख थप उच्च बनाइरहेको छ।

 

नेपाल सरकार र नेपाली सेनाले शान्ति स्थापनार्थ योगदान दिइरहेका सबै सैनिकहरूको सुरक्षामय कार्यकालको कामना गर्दै सफल जिम्मेवारी निर्वाहको लागि शुभकामना व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस