मुम्बई, ३ बैशाख । अभिनेता सैफ अली खानमाथि हमलाको मुद्दामा चार्जशिट दायर भएपछि हरेक दिन नयाँ खुलासा भइरहेका छन् ।
अब यो प्रकरणमा नयाँ ट्विस्ट आएको छ । चार्जशिटका अनुसार पुलिस र फरेन्सिक टोलीले अभिनेताको घरबाट फेला पारेका औंठाछापहरू अभियुक्त शरीफुल इस्लाम शाहजादसँग मेल खाँदैनन् ।
वास्तवमा सैफ अली खानको घरबाट कुल २० वटा फिंगरप्रिन्ट नमूनाहरू लिइएको थियो, जसलाई राज्य सीआईडी फिंगरप्रिन्ट ब्यूरोमा पठाइएको थियो । जसमध्ये १९ औँठाको छाप शरीफुलसँग मेल नखाएको खुलेको छ ।
बाथरुमको ढोका, सुत्ने कोठाको ढोका र वार्डरोबको ढोकामा फेला परेको औंठाछाप शरीफुलको नभएको आरोपपत्रमा उल्लेख छ। तर, घटना भएको भवनको आठौं तल्लामा भेटिएको फिंगरप्रिन्ट शरीफुलसँग मिलेको छ । सैफको घर सतगुरु शरण अपार्टमेन्टको ११ औं तलामा छ, जहाँ उनीमाथि हमला भएको थियो ।
मुम्बई प्रहरीले १२ अप्रिलमा बान्द्रा अदालतमा १६१३ पृष्ठभन्दा बढीको आरोपपत्र दायर गरेको थियो । आरोपपत्रमा यो पनि भनिएको छ कि आरोपी मोहम्मद शरीफुल इस्लाम शाहजाद भारतीय राहदानी लिनको लागि मात्र भारत आएकोसमेत खुलेको छ ।
सैफ अली खानलाई जनवरी १५ मा उनको घर सतगुरु शरण अपार्टमेन्टमा घुसेर आक्रमण गरिएको थियो । यसपछि सैफ आफै अस्पताल पुगेका थिए । उनको हात, ढाड र ढाडमा चोट लागेको थियो । उपचारपछि अभिनेता २१ जनवरीमा डिस्चार्ज भएका थिए । सो हमलाको दुई दिनपछि प्रहरीले बंगलादेशी नागरिक शरीफुल इस्लामलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस