काठमाडौं — गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हलचोक, स्वयम्भूमा ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड–२०८१’ भव्य रूपमा सम्पन्न भयो।
नेपाल एपीएफ क्लबले अग्नी इन्कर्पोरेटेड प्रा.लि. (महिन्द्रा नेपाल, अग्नी ग्रुप) को सहकार्यमा पहिलोपटक यो अवार्ड कार्यक्रम आयोजना गरेको हो। समारोहमा गृहमन्त्री लेखकसहित विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र प्रशिक्षकहरूलाई अवार्ड प्रदान गरे।
गृहमन्त्री लेखकले खेलकुद कुनै पनि राष्ट्रको पहिचान र आधारशिला भएको उल्लेख गर्दै, यसले व्यक्तिगत आत्मविश्वास वृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको नाम उजागर गर्ने अवसर प्रदान गर्ने बताए।
उनले खेलकुद केवल शारीरिक व्यायाम वा मनोरञ्जन मात्र नभई, समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने माध्यम भएको स्पष्ट पारे। साथै, सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि राष्ट्रसेवामा अग्रणी भूमिका निभाउँदै खेलकुदको क्षेत्रमा पनि अलग पहिचान बनाउन सफल भएकोमा प्रशंसा व्यक्त गरे।
गृहमन्त्री लेखकले यस किसिमका कार्यक्रमले खेलाडीहरूको मेहनत र समर्पणको कदर गर्दै नयाँ प्रतिभाहरू उजागर गर्ने, मनोबल उच्च बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि एपीएफ क्लबसँग सहकार्य गर्दै आएको महिन्द्रा नेपाल (अग्नी ग्रुप) प्रति आभार प्रकट गर्दै, यस्तो सहकार्यलाई निरन्तरता दिँदै खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरे।
उनले खेलकुद केवल मनोरञ्जन नभई शारीरिक क्षमता, मानसिक दृढता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै, खेल मैदानमा अनुशासन, सीप र मेहनतका साथ विजयी लक्ष्य प्राप्त गर्न सकिने बताए।
महानिरीक्षक अर्यालले खेलाडीको मेहनत र लगनशीलताको सम्मानस्वरूप प्रदान गरिने स्पोर्ट्स अवार्डले भविष्यमा उत्कृष्ट प्रदर्शनका लागि थप प्रेरणा दिने विश्वास व्यक्त गरे।
अग्नी इन्कर्पोरेटेड प्रा.लि. का कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले स्वागत मन्तव्य राख्दै, स्पोर्ट्स अवार्डले खेलाडीहरूको मनोबल र क्षमता वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रूपमा योगदान दिएका खेलाडी तथा विशिष्ट व्यक्तिहरूलाई एपीएफ क्लबको आजीवन सदस्यता प्रदान गरिनुका साथै, क्लबलाई निरन्तर सहयोग गर्दै आएका संघसंस्थाहरू र व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, अग्नी ग्रुप नेपालका अध्यक्ष क्याबिनेट श्रेष्ठ, पूर्व महानिरीक्षकहरू, अवकाशप्राप्त तथा कार्यरत अतिरिक्त महानिरीक्षकहरू, संघसंस्थाका प्रतिनिधिहरू, प्रशिक्षक र पूर्व खेलाडीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस