• शुक्रबार-बैशाख-५-२०८२

मलंगवामा भव्य रूपमा सम्पन्न “ईद मिलन तथा उर्दू कवि सम्मेलन”

सर्लाही, मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन” भव्य रूपमा सम्पन्न भएको छ। उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले आयोजित सो कार्यक्रम दबिस्तान ए–नेपाल को आयोजनामा बुधबार मलंगवा स्थित होटल सुजातामा सम्पन्न भएको हो।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्व गृह राज्य मन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी, मधेस प्रदेश सांसद विमला अन्सारी, पूर्व संघीय सांसद रुहीनाज मिकरानी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अब्दुल रहिम मिकरानी, मलंगवा नगरपालिकाका पूर्व उपमेयर शान्ती उर्फ शबनम मिकरानी, वडा नं. ९ का वडाअध्यक्ष चन्देश्वर राय, वडा नं. ३ का प्रमोद राय, मेयर प्रत्यासी शमिमबाबु खान लगायत स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कवि सम्मेलनमा मुलुकका विभिन्न स्थानबाट आएका उर्दू कविहरूले सामाजिक सद्भाव, प्रेम, भाइचारा र शान्तिका सन्देश समेटिएका शायरी वाचन गरी दर्शक–स्रोताको मन जितेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले भने, “जबसम्म हाम्रो देशमा सबै भाषा, धर्म, संस्कृति, भेषभूषा र जातजातिको समान अधिकार संविधानमा सुनिश्चित हुँदैन, तबसम्म देशमा दिगो शान्तिको स्थापना असम्भव छ।”

उनले मधेस प्रदेश सरकारले हालै प्रस्तुत गरेको भाषा विधेयकमा बहुसंख्यक जनताले बोल्ने उर्दू र थारु भाषालाई समावेश नगरिएकोप्रति घोर आपत्ति जनाउँदै भने, “यदि आगामी विधेयकमा पनि उत्पीडित समुदायका भाषा समावेश भएनन् भने भाषिक अधिकार प्राप्तिका लागि आन्दोलन हुनेछ।” उनले जनतालाई आफ्नो भाषिक अधिकारका लागि एकजुट भएर आन्दोलनमा उत्रन आह्वानसमेत गरे।

कार्यक्रम मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। आयोजक संस्था दबिस्तान ए–नेपालले आगामी दिनमा पनि यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस